PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

फिलिपिन्ससँग नेपालको 'सम्मान'को खेल, ग्लोबल क्वालिफायर्समा कसरी पुग्यो फिलिपिन्स?



पहिलोपोस्ट

फिलिपिन्ससँग नेपालको 'सम्मान'को खेल, ग्लोबल क्वालिफायर्समा कसरी पुग्यो फिलिपिन्स?

काठमाडौं : टी २० विश्वकपको छनोटअन्तर्गत पहिलो खेलमा बलियो प्रतिस्पर्धी ओमानलाई हराएको नेपालले आज फिलिपिन्ससँग खेल्दै छ। त्यसो त क्रिकेट परिदृश्यमा फिलिपन्स त्यस्तो चर्चित नाम भने होइन। पछिल्लो तीन वर्षयता क्रिकेटमा गतिविधि नभएको फिलिपिन्स ब्याट्सम्यानले भन्दा बक्सरले बढी चर्चित छ। यसापाला भने अस्ट्रेलियामा हुने टी २० विश्वकपको छनोटमा प्रतिस्पर्धा गर्न आइपुगेको छ।

ओमानमा जारी विश्वकप छनोटमा तल्लो वरीयताको टोली हो फिलिपिन्स। धेरैलाई त अझै यो लाग्छ कि फिलिपिन्स विश्वकपको ग्लोबल क्वालिफायर्समा नै कसरी पुग्यो?

यो ओमानमा जारी प्रतियोगिताको पहिलो खेलको नतिजाले पनि देखाउँछ। क्यानडाविरुद्धको खेलमा २१६ रनको लक्ष्य पछ्याउन पुग्यो फिलिपिन्स। यसक्रममा क्यानडाले मात्र १ विकेट गुमायो। जवाफी ब्याटिङमा उत्रिएको फिलिपिन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९८ रनमा समेटियो। र, बेहोर्‍यो ११८ रनको भारी पराजय। अर्को हिसाबले भन्दा फिलिपिन्सले जति रनले हार्‍यो त्यति त ओमानलाई हराएको नेपालले बनाएको थिएन। नेपालले ओमानविरुद्ध ११७ रनमा समेटिएको थियो, बावजुत नेपालले ३९ रनको जित निकाल्यो।

'यो एउटा 'दन्त्य कथा' जस्तो छ,' अस्ट्रेलियाको एउटा हाइस्कुलमा पढाउने तर हाल फिलिपिन्सको टोलीको सदस्य रहेका जोनाथन हिलले भने।

फिलिपिन्सको टिम खासगरी प्रवासी इन्डियन र फिलिपिनो अस्ट्रेलियन- जो अस्ट्रेलियामा बस्छन् र बिदा लिएर फिलिपिन्समा गएर ट्रेनिङ गर्छन्- मिलेर बनेको छ। यो प्रतियोगिताको तयारीका बारे सोचे भन्दा धेरै फरक रहेको हिलले बताए।

पछिल्लो समय फिलिपिन्सले तीन वर्षपहिले म्याच खेलेको थियो। वर्षाले प्रभावित गरेको भानुआतुविरुद्धको उक्त खेलमा जित निकाल्दै अप्रत्यासित रुपमा ओमानका लागि स्थान सुरक्षित गरेको थियो।

त्यसपछि कोभिड महामारी फैलियो। सबै आआफ्नो क्षेत्रतिर लागे। लकडाउन र प्रतिबन्धहरुले टिम एकैठाउँ हुने पनि अवसर मिलेन। ओमान जानुभन्दा अघिल्लो हप्तामात्र केही खेलाडीबीच एकअर्कामा चिनजान भएको थियो।

'हामी साँच्चिकै धेरै अन्डरडग हौं,' हिल भन्छन्, 'तर जे भए पनि क्रिकेट एउटा खेल हो। यो ब्याट भर्सेस बल हो। र, मलाई यसको बारेमा सबैभन्दा मनपर्ने कुरा भनेको यो केवल कौशल स्तर वा फिटनेस स्तर वा बौद्धिकता पनि नभएर हृदयको बारेमा हो। यो त्यस्तो चीज हो जुन हामीले सधैं खेलेका छौं।'

दुई समूहको शीर्ष दुई/दुई टोलीले सेमिफाइनल खेल्नेछन् र फाइनल प्रवेश गर्ने टोलीको अस्ट्रेलिया विश्वकपको टिकट पक्का हुने अवस्था छ।

'हामी हाम्रो राम्रो दिने प्रयास गर्नेछौं,' मनिलामा व्यवसाय गर्ने ४२ वर्षे अफस्पीनर विमल कुमारले भने, 'यो अप्रत्यासित खेल हो र तपाईं भन्न सक्नु हुन्न, कसले खेल जित्नेछ।'

ओमान पुग्न फिलिपिन्स खेलाडीले ठूलो लगानी गरेका छन्। क्रिकेटको गभर्निङ बडी आईसीसीले फ्लाइट र आवासको व्यवस्था गरेको छ भने त्यसबाहेकको खर्च खेलाडीकै काँधमा छ। केही समय अघि मात्र गोफण्डमार्फत ५३०० अमेरिकी डलर उठाएर टिमले ट्रेनिङ बल, प्राक्टिस नेट लगायत खरिद गरेको थियो।

'फिलिपिन्सलाई प्रतिनिधित्व गर्न हामीले कामबाट बेतलबी बिदा लिएका छौं,' अस्ट्रेलिया बेस्ड प्रशिक्षक हेन्री टेलरले भने।

सन् १९९९ मा मनिलामा क्रिकेट संघ बनाउने प्रक्रिया सुरु भएको थियो। दुई वर्षपछि आईसीसीको एसोसिएट सदस्यता पायो। हाल फिलिपिन्ससँग पुरुष टिम, महिला टिम र केही घरेलु संरचना पनि छ। सन् २०११ मा अन्तर्राष्ट्रिय डेभ्यु गरेयता टोलीले केही जित पनि निकालेको छ। यद्यपि विश्ववरीयतामा शीर्ष २० भित्रका टोलीसँग खेल्नु उसका लागि अझै पनि फलामे चिउरा चपाएसरह नै हुन जान्छ।

टिमका म्यानेजर समेत रहेका फैसल खान विश्वकपभन्दा एक तह तल खेल्न पाउनु पनि जितभन्दा पनि महत्वपूर्ण भएको बताउँछन्, 'कसलाई थाहा छ र, सायद एक दिन हामी विश्वकप खेल्छौं कि?'

+++

ग्लोबल छनोट ए मा नेपालसहित आठ टोली छन्। ८ टोलीलाई चार-चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्। समूह ए मा आयरल्याण्ड, यूएई, बहराइन र जर्मनी छन्।

समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। र, त्यसबाट फाइनल पुग्ने टोलीले अस्ट्रेलियामा हुने टी २० विश्वकप खेल्न पाउनेछन्।

पहिलो खेलमा ओमानमाथि जित निकालेको नेपालले आज फिलिपिन्ससँग दिउँसो पौने १२ बजे अल अमेरत स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै सोमबार क्यानडासँग खेल्नेछ। खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभीले गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell