वायु प्रदूषणले वीर्यको गुणस्तरमा असर पार्न सक्ने एक अध्ययनले देखाएको छ। चीनमा ३० हजारभन्दा बढी पुरुषको शुक्रकीटको विश्लेषण गरिएको नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
वायु प्रदूषणले वीर्यको गतिशीलतामा प्रभाव पार्ने र शुक्रकीटले सही दिशामा पौडिने क्षमता गुमाउन सकिने अध्ययनले देखाएको छ। जामा नेटवर्क्स जर्नलमा बिहीबार प्रकाशित अनुसन्धानको रिपोर्टमा हावामा प्रदूषित कणहरूको आकार जति सानो हुन्छ त्यति नै वीर्यको गुणस्तर खराब हुने पनि बताइएको छ।
‘शुक्राणुको गतिशीलता कमजोर पार्न सानो आकारको प्रदूषित कणभन्दा ठूला कण बढी शक्तिशाली हुन सक्ने हाम्रो अध्ययनले देखाएको छ,’ रिपोर्टमा उल्लेख छ।
अध्ययनको सो निष्कर्षले प्रजनन उमेरमा पुरुषहरू वायु प्रदूषणको जोखिमबाट बच्न आवश्यक रहेको कुरालाई प्रकाश पारेको पनि अनुसन्धानकर्ताहरुको सुझाव छ।
अनुसन्धानकर्ताहरुले लामो समयदेखि वायु प्रदूषण र शुक्रकीटको गुणस्तरबीच सम्बन्ध छ या छैन भनेर स्थापित गर्ने प्रयास गरिरहेका थिए। तर, यसअघिका अध्ययनका नतिजाहरू प्रायः आपसमा बाझिने खालका र जटिल रहेका कारण पनि प्रदूषणको असर पुरुष प्रजनन क्षमतामा प्रतिकूल छ कि छैन भन्ने अस्पष्ट थियो। यद्यपि, डिसेम्बर २०२१ मा प्रकाशित अन्तर्राष्ट्रिय अध्ययन समीक्षामा प्रदूषणले सम्पूर्ण जनसंख्याको प्रजनन क्षमतामा नकारात्मक असर पार्न सक्छ भन्ने विश्वास गर्ने कारण रहेको बताइएको थियो।
साङ्हाईस्थित थोङ्ची युनिभर्सिटीको स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले ३४० चिनियाँ शहरहरूका ३३ हजार ८७६ पुरुषहरूको डेटा रेकर्ड अध्ययन गरेका थिए। जसमध्ये केही वायु प्रदूषणको विभिन्न स्तरको जोखिममा रहेका औसतमा ३४ वर्षका पुरुषहरू थिए। त्यस्तै, जनवरी २०१३ र डिसेम्बर २०१९ को बीचमा सहयोगी प्रजनन प्रविधिमार्फत पिता बनेका पुरुषहरुको पनि डेटा अध्ययन गरिएको थियो।
त्यसपछि उनीहरूले सहभागीहरूको वीर्य गुणस्तर र प्रदूषणका कणहरुको आकारमा केही ‘प्याटर्न’ छ या छैन भनेर अध्ययन गरेका थिए। प्रदूषणका कणहरुलाई २.५ माइक्रोमिटर भन्दा सानो व्यास भएको, २.५ देखि १० माइक्रोमिटरको र १० माइक्रोमिटरभन्दा ठूलो तीन तहमा यसको प्रभावबारे खोज गरिएको थियो। प्रदूषण र वीर्यको गुणस्तरबीच सम्बन्ध स्थापित गर्न अनुसन्धानकर्ताहरूले शुक्राणु गणना, ‘कन्सन्ट्रेसन’ र शुक्राणुको गतिशीलतामा अध्ययन गरेका थिए।
अनुसन्धानकर्ताहरूले शुक्राणु गणना र ‘कन्सन्ट्रेसन’को सन्दर्भमा वायु प्रदूषण र शुक्रकीटको गुणस्तरबीच महत्त्वपूर्ण सम्बन्ध फेला पार्न सकेनन्। यद्यपि, साना प्रदूषणका कणहरुको सम्पर्कमा आएका सहभागीको वीर्यको ‘प्रोग्रेसिभ’ र ‘टोटल स्पर्म मोबिलिटी’ दुवै कम रहेको पाइएको थियो। ‘प्रोग्रेसिभ स्पर्म मोबिलिटी’ भनेको शुक्राणुको अगाडि पौडिन सक्ने क्षमता हो भने ‘टोटल स्पर्म मोबिलिटी’ले सामान्यतया शुक्राणुको पौडी खेल्न सक्ने क्षमतालाई बुझाउँछ।
विशेषगरी, २.५ माइक्रोमिटरभन्दा कम व्यास भएका प्रदूषण कणको सम्पर्कमा आएका सहभागीहरुको शुक्राणु गतिशीलतामा करिब ३.६ प्रतिशतले कमी आएको देखिएको थियो। १० माइक्रोमिटर व्यासको कणको सम्पर्कमा आउँदा २.४४ प्रतिशत शुक्राणु गतिशीलतामा कमी आएको पाइएको थियो। यसको अर्थ प्रदूषणका कणको विभिन्न आकारले वीर्यको गुणस्तरमा फरक-फरक प्रभाव पार्न सक्छ। कण जति सानो भयो मानव फोक्सोमा त्यो भित्रसम्म पुग्ने सम्भावना बढी भएकाले यो नतिजा देखिएको हुन सक्ने बताइएको छ।
‘स्पर्माटोजेनेसिस’को पहिलो ९० दिनमा प्रदूषणमा ‘एक्सपोज’ भएकाहरुमा यसको प्रभाव बढी पर्ने डेटाले देखाएको छ। ‘स्पर्माटोजेनेसिस’ भनेको शुक्रकीट बन्ने प्रक्रिया हो। यसको अर्थ प्रदूषणका कणले जेनेटिक (आनुवंशिक) स्तरमा शुक्राणुलाई असर गर्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। तर, यो केवल अनुमान मात्र हो र सो विषयमा थप अनुसन्धान हुन बाँकी नै छ।
‘वायु प्रदूषण र वीर्यको गुणस्तरबीचको सम्बन्धको सम्भावनाबारे वर्षौंदेखि गरिएका धेरै अध्ययनले देखाएका थिए, यद्यपि सबै अध्ययनहरु यस निष्कर्षमा सहमत छैनन्’, अनुसन्धानमा संलग्न नभएका युनिभर्सिटी अफ शेफिल्डका एण्ड्रोलोजीका प्राध्यापक एलान पेसीले भने, ‘वायु प्रदूषण र वीर्यको गुणस्तरबीच सम्बन्ध छ भन्ने कुरामा यो अध्ययनले प्रमाण थपेको छ, र यो प्रभावशाली पनि छ किनभने यसमा ३० हजारभन्दा बढी पुरुषहरूको वीर्य गुणस्तरको डेटा प्रयोग गरिएको छ।’
‘तर, शुक्राणुको गतिशीलतामा आएको गिरावटको स्तर एकदम कम देखियो,’ पेसीले थपे।
यो अध्ययनले शुक्रकीटको ‘मोर्फोलोजी’, बनावट र आकारको बारेमा कुनै जानकारी दिन नसकेको पेसी बताउँछन्। त्यसैले प्रदूषणका कारणले नै शुक्रकीटलाई कमजोर बनाएर यसको गतिशीलता घटेको हो वा अन्य कारणहरू छन् भन्ने यकिन साथ भन्न अझै गाह्रो हुने उनले बताए।
प्रदूषणले शुक्राणुको गतिशीलतामा नकारात्मक प्रभाव पार्न सक्छ भने कुरामा यो अध्ययनले सुझाव दिएको भए पनि यसले ठूलो मात्रामा महत्त्वपूर्ण क्लिनिकल प्रभाव पार्न सक्छ कि सक्दैन भनेर भन्न पर्याप्त जानकारी नभएको पेसीको भनाइ छ। जसकारण उच्च प्रदूषण भएको क्षेत्रहरूका पुरुषहरूमा बुबा बन्ने क्षमतामा समग्र रुपमा कमी भएको छ छैन भन्न नसकिने उनले बताए। 'यो विषयमा थप अनुसन्धान भए भविष्यमा यकिनका साथ उक्त प्रश्नको जवाफ दिन सकिन्छ,' उनले भने।