
काठमाडौं : पछिल्लो समय नक्कली नोटको कारोबार बढ्दै गएको छ। प्रहरीले नक्कली नोटको कारोवार गर्ने मानिसलाई पक्राउ गरेको संख्या र बरामद गर्ने नोटको संख्या हेर्दा कारोबारीहरु निकै सक्रिय भएको देखिन्छ। बुधवार मात्र प्रहरीले २ लाख ९४ हजार रुपैयाँ नक्कली नोट सहित चार जनालाई पक्राउ गरेको थियो।
महानगरीय अपराध महाशाखाको टोलीले बुधवार दिउँसो काठमाडौं महानगरपालिका १६ नयाँ बजार मेडिकल चोकबाट चार जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले रौतहट गौर नगरपालिका घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह,२७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र वर्ष २८ वर्षीय महमद शम्साद आलमलाई नियन्त्रणमा लिएको हो। उनीहरुले काठमाडौं उपत्यका बाहिरबाट नक्कली नोट ल्याएको प्रहरीमा बयान दिएका छन्।
चालु आर्थिक वर्षको ६ महिनामा मात्र देशभरबाट ५५ जनालाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेहरुमा ८ जना विदेशी नागरिक समेत रहेका छन्। साउनमा ५ जना, भदौमा ११ जना, असोजमा १३ जना, कार्तिकमा ४ जना, मंसिरमा ११ जना र पुसमा ११ जना समातिएका छन्।
गएको आर्थिक वर्षममा देशभर ४० लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको नक्कली नोट फेला परेको थियो। जसमा ४३ जना मानिस समातिएका थिए। आर्थिक वर्ष २०७६/७७ मा ६३ जना समातिएका थिए। त्यस्तै १ करोड ९१ लाख ८९ हजार १ सय रुपैयाँको नक्कली नोट समेत भेटिएको थियो।
यसरी समातिएका मानिसहरु मध्ये धेरैले फोटोकपी मेसिनको प्रयोग गरेर नक्कली नोट छापेको बताएका थिए। कतिपय ठाउँमा प्रहरीले कोठाबाट नै नक्कली नोट छाप्ने फोटोकापी मेसिन र अन्य सामानहरु पनि बरामद गरेको थियो।