PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

हामी स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौं : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

हामी स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौं : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा संघीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन्।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री देउवाले विसं २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो भन्दै यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गराएका थिए।

देउवाले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासन अन्त्य भई जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नाका लागि विसं २००७ मा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्दै आजका दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हकअधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय भएको उल्लेख गरे।

'वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौं। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि विसं २००७ को राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२-६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ,' प्रधानमन्त्री देउवाले भने, 'आज हामी जेजस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौं, जुनस्तरको नागरिक हक अधिकारको उपभोग गर्न पाउने स्थितिमा छौं, राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै २००७ सालको क्रान्तिको जगमा उभिएर भएको हो।'

देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको र यसलाई अब हामी सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको बताए।

'हामी संविधानसभाबाट नेपाली जनताले चाहेजस्तो संविधान निर्माण गरी त्यसैअन्तर्गत मुलुकमा शासन व्यवस्था सञ्चालन गर्न सफल भएका छौं। हाम्रा भावना र चाहनालाई संविधानमा प्रतिविम्बित गर्न सक्षम भएका छौं। समाजमा व्याप्त छुवाछुत, जातीय तथा लैङ्गिक भेदभावजस्ता कूरीति र कुप्रथालाई उन्मूलन गर्दै सबैलाई समान अवसर र सहभागिता सुनिश्चित गरी समावेशी विकासको परिकल्पना गरेका छौं ,' देउवालाे भने।

उनले मुलुकले युगान्तकारी राजनीतिक परिवर्तन गरेको र अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी भएकाले हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो रहेको र सहिदका अधुरा सपना पूरा गर्ने र हाम्रा पुर्खाले देख्न र भोग्न चाहेको नेपाल बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको बताए।    

प्रधानमन्त्रीले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका संरचना र पूर्वाधार  नवनिर्माण र पुनर्निर्माणको कार्य पूरा हुन नपाउँदै कोभिड१९ को महामारीको प्रकोपलाई सामना गर्न परिरहेको जनाउँदै यसले नेपालीको जीवन र अर्थतन्त्रमा ठूलो असर गरेको तथा कोभिड१९ को प्रकोपलाई नियन्त्रण गर्न सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको र यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको बताए।

सरकारले स्वास्थ्य पूर्वाधार सेवा विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell