काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन्।
सुनाकोठीको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
‘सार्वजनिक सम्पत्तिको खोजीनीति गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस्। मूर्ति चोरी गर्ने चोरहरू कारबाहीमा परुन्। म गृह मन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु,’ गृहमन्त्री खाणले शनिवार आयोजित कार्यक्रममा भने, ‘मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका साथीहरूसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले कार्ययोजना बनाउनुहोस्।’
माघ ८ गते हराएको बालकुमारी माताको मूर्ति २० दिनपछि माघ २८ गते भेटिएको थियो।
कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिकाका पदाधिकारीसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका पदाधिकारीको उपस्थिति थियो ।