PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

ए डिभिजन लिगबाट रेलिगेशनमा पर्‍यो च्यासल युथ क्लब



पहिलोपोस्ट

ए डिभिजन लिगबाट रेलिगेशनमा पर्‍यो च्यासल युथ क्लब
तस्बिर : एन्फा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा च्यासल फ्रेन्ड्स क्लबसँग २-१ गोलअन्तरले पराजित भएको हो।

फ्रेन्ड्स क्लबको जितमा जमौउल एन्थोनी फ्रान्कोइसले दोहोरो गोल गरे। ३८ औं मिनेटमा फ्रेन्ड्सलाई अग्रता दिलाएका उनले ४३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै दोस्रो गोल गरे। यता च्यासलका लागि ५६ औं मिनेटमा पेनाल्टीमै पाएको अवसर सदुपयोग गर्दै गोल फर्काएको थियो। जित्नै पर्ने दवाबमा उत्रिएको च्यासललाई मौसा अबगानाले गरेको उक्त गोल खेलमा फर्कन पर्याप्त भएन।

च्यासल जारी सिजन रेलिगेट हुने पहिलो टोली बनेको छ। जारी सिजन पेपरमा बलियो देखिएर पनि फितलो प्रदर्शन गरेको च्यासलले १२ खेलमा १ जित, ३ बराबरी र ८ पराजय ब्यहोर्दै ६ अंक जोडेको छ।

उता रेलिगेशनमै संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबलाई भने आजको खेलले राहत दिएको छ। जितसँग फ्रेन्ड्स क्लबले १० अंक जोडेको छ भने च्यासलको ६ अंक छ। अब अर्को रेलिगेशनको जोखिममा नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब देखिन्छन्।

आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब साँझ पौने पाँच बजे दशरथ रंगशालामा आमनेसामने हुँदैछ। मछिन्द्र दुई खेल बाँकी छँदै च्याम्पियन बनिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell