PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एमसीसीलाई संसदमा पेश हुन एकीकृत समाजवादीले नरोक्ने, 'यथास्थितिमा पारित गर्न पनि नहुने'



पहिलोपोस्ट

एमसीसीलाई संसदमा पेश हुन एकीकृत समाजवादीले नरोक्ने, 'यथास्थितिमा पारित गर्न पनि नहुने'

काठमाडौं : सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा पेश गर्न नरोक्ने भएको छ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद बढिरहेको बेला एकीकृत समाजवादीले आज आधिकारिक धारणा बनाउन स्थायी कमिटी बैठक बोलाएको थियो। बैठकले एमसीसी प्रस्ताव संसदमा पेश गर्न नरोक्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

एकीकृत समाजवादीले प्रस्ताव प्रतिनिधिसभामा पेश हुन नरोक्ने बताए पनि उक्त प्रस्ताव यथास्थितिमा पारित गर्न भने नसकिने समेत जनाएको छ।

‘यथास्थितिमा एमसीसी पारित गर्न नहुने निर्णय भएको छ’ खतिवडाले भने, ‘यसबारे थप निर्णय गर्न स्थायी कमिटीले सचिवालयलाई जिम्मा दिएको छ।’

खतिवडाले संसदमा प्रस्ताव पेश हुन नरोक्ने भने पनि जबरजस्ती पनि गर्न नदिने जनाएको छ। सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी संसदमा पेश गर्ने पक्षमा छ। तर, नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी पेश गरिए सरकार र गठबन्धन छाड्ने चेतावनी दिइसकेको छ।

गठबन्धनका दुई दलबिच एमसीसीलाई लिएर चर्को मतभेद हुँदा एकीकृत समाजवादीले भने प्रस्तावलाई जबरजस्ती पेश हुन नदिन आफूहरु सक्रिय हुने जनाएको छ।

‘जबर्जस्ती टेबल नहुने वातावरण बनाउन हामी सक्रिय हुने छौं। जबर्जस्ती टेबल गर्न खोजे सचिवालयको बैठकले निर्णय गर्नेछ’ खतिवडाले भने।

एमसीसीलाई लिएर भोलि गठबन्धनको बैठक बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell