PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी



पहिलोपोस्ट

हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

कैलालीः धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ र विद्याभूषण पब्लिक स्कुल गेट विजयी भएका छन्।

धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। हिमालयनले पहिलो खेलमा एभरेस्टलाई ८१ रनले पराजित गर्दै जित दर्ता गरेको छ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो। १९२ रनको लक्ष्य पछ्याएको एभरेस्टले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर ११० रन मात्रै बनाउन सक्यो। एभरेस्टका सन्दीप विष्टले ३० बलमा २९, योगेश भाटले १६ बलमा १९ र दीपक रोकायाले १५ बलमा १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन। हिमालयनको बलिङतर्फ सन्दीप शाहीले ३, राहुल भण्डारी र सतीस यादवले २/२, दीप बोहरा, नारायण जोशी र अनुप कुँवरले १/१ विकेट लिए।

पहिलो इनिङमा ह्वाइट हाउसका लागि वसन्त सिंह कार्कीले ७ चौका र ७ छक्काको मद्दतले ४९ बलमा सर्वाधिक ९२ रनको शानदार पारी खेले। त्यस्तै टिमका लागि दीपक बोहराले ३५ बलमा ४३ र राहुल भण्डारीले १२ बलमा १२ रनको योगदान गरे। वसन्त र दीपकले १ सय ३२ रनको साझेदारी पारी खेले।

एभरेस्टको बलिङमा धर्मराज जोशी र मुकेश ओझाले ४ ओभर बलिङ गर्दै समान ३/३ विकेट लिए। हिमालयनले आफ्नो पहिलो खेलमा जित निकाल्दा एभरेस्टले पहिलो हार ब्यहोर्‍यो। खेलको प्लेयर अफ दि म्याच हिमालयन ह्वाइट हाउसका वसन्त कार्की घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए। गेम चेन्जर अवार्ड राहुल भण्डारीले पाए।

आजै भएको दोस्रो खेलमा विद्याभूषण पब्लिक स्कुलले लम्कीको गुरुकुल स्कुलमाथि ६ विकेटको जित निकालेको छ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुल एकेडेमी लम्कीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो। १४१ रनको विजयी लक्ष्य पछ्याएको विद्याभूषणले १७ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। विद्याभुषणका लागि नरेन साउँदले ७ छक्काको मद्दतले ३२ बलमा सर्वाधिक ५६ रन बनाए। उसका वीरेन्द्र नाथले २९, प्रदीप चन्दले २० रन बनाएर आउट हुँदा सुरेन्द्र ऐरी १५ रनमा नट आउट रहे। गुरुकुलको बलिङतर्फ दिनेश अधिकारीले २, देव खनाल र बसिर अहमदले समान १/१ विकेट लिए।

यसअघि पहिलो इनिङमा गुरुकुलका लागि कप्तान देव खनालले ३ छक्का र १ चौकाको मद्दतले ४४ बलमा ४७ रन बनाए। २९ बलको सामना गरेका बसिर अहमदले ३ छक्का र २ चौका प्रहार गर्दै टिमका लागि ४१ रनको योगदान दिए। विद्याभूषणको बलिङतर्फ अर्जुन साउद र प्रवेश बुढ्थापाले २/२ विकेट तथा शेर मल्ल, वीरेन्द्र नाथ र रोशन थापाले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ दि म्याच नरेन साउद भए। सर्वाधिक छक्काको अवार्ड पनि नरेनले नै पाउँदा, गेम चेन्जर अवार्ड सुरेन्द्र ऐरीले पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell