बुटवलः विद्यालय हिँडेका दुई बालबालिकालाई अपहरण गर्ने एक जनालाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रूपन्देहीको सैनामैना नगरपालिका ५ का ३५ वर्षीय खेमबहादुर पौडेल छन्। खेमबहादुरलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो।
खेमबहादुरले गत बिहीबार बिहान बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुल हिँडेका सैनामैना नगरपालिका ६, दूधराक्षकी पुष्पा दाहालका १२ वर्षीय छोरा प्रसिद्ध र ९ वर्षीय छोरी प्रशन्नलाई अपहरण गरेर झापाको विर्तामोड पु¥याएका थिए।
घरबाट विद्यालयको लु १ ख ६५६८ नम्बरको बसमा चढेर गएका बालबालिकालाई पौडेलले बसका स्टाफसँग आफूलाई आफन्त बताउँदै फोटो खिच्न लैजाने भन्दै बीच बाटोबाटै बसबाट झारेर सुरुमा बुटवल ल्याएको अनुसन्धानबाट खुलेको छ। खेमबहादुर नाताले बालबालिकाका फुपाजु पर्छन्।
घरबाट विद्यालय हिँडेका बालबालिका साँझ घरमा नफर्केपछि परिवारले विद्यालयमा बुझ्दा बसका चालक र कर्मचारीले बच्चाहरूलाई अभिभावकले बिहानै बसबाट झारी फोटो खिच्न लिएर गएको बताएका थिए। त्यसपछि मात्रै परिवारले छोराछोरी अपहरणमा परेको अनुमान गरेका थिए।
शुक्रबार बिहानै इलाका प्रहरी कार्यालय रन्यौरामा घटनाबारे अभिभावकले जानकारी दिएपछि प्रहरीले विभिन्न युनिट परिचालन गरी खोजतलास सुरु गरेको थियो। प्रहरीले खोजी गर्ने क्रममा खेमबहादुरले प्रयोग गर्दै आएको मोबाइल अफ थियो। उनको मोबाइल बिहीबार दिउँसो ३ बजेर ४० मिनेटमा बुटवलमै स्वीच अफ भएको प्रहरीले पत्ता लगायो। खेमबहादुरले बुटवलकै एक फेन्सी पसलमा बालबालिकालाई नयाँ कपडा किनेर उनिहरुले लगाएको ड्रेस र झोला त्यहीँ राख्न लगाएको खुलेको छ।
अनुसन्धानकै क्रममा खेमबहादुरले बुटवल बसपार्कबाट बिर्तामोड जाने बसको टिकट काटेको भेटिएपछी प्रहरीको अनुसन्धान त्यतै माडियो। त्यसपछि प्रहरीलाई अनुसन्धानमा केही सहज भयो। प्रहरीले शुक्रबार दिउँसो विर्तामोडबाट दुई बालबालिकालाई सकुशल उद्धार गर्न सफल भएको हो। अपहरण गर्ने खेमलाई प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।
रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बालबालिकालाई परिवारको जिम्मा लगाएको बताए। खेमबहादुरले बालबालिकालाई पारिवारिक रिसिबीका कारण अपहरण गरेको प्रहरीको भनाई छ।
खेमबहादुर र उनकी श्रीमतीबीच केही समयदेखि खटपट भएको थियो। खेमबहादुरकी श्रीमती अपहरित बालबालिकाकी फुपू दिदी हुन्। पछिल्लो समय उनी माइतमा बस्दै आएकी थिइन्।
विर्तामोड पुगेपछि खेमबहादुरले तिमीहरूका छोराछोरी फिर्ता ल्याउँछु, मलाई मेरी बुढी र छोरी पठाइदेऊ भनेर परिवारमा भनेकाले यो आर्थिक लेनदेनको अपहरण नभई पारिवारिक रिसिबीका कारण बालबालिकालाई विर्तामोड पु¥याएको हुनसक्ने प्रहरी प्रमुख केसीले बताए।
‘हामीले बेलहिया नाका, कृष्णनगर लगायतका नाकामा प्रहरी युनिट खटायौँ। तर, खेमबहादुर लामो समयदेखि भारतको दार्जिलिङ क्षेत्रमा बस्दै आएकाले बालबालिकालाई उतै लैजान सहज होस् भन्ने उद्देश्यले बिर्तामोड लगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने।