
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले अलाभेसमाथि जित निकालेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडले अलाभेसमाथि ३-० गोलअन्तरको जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६३ औं मिनेटमा मार्को एसेन्सियोको गोलमा रियलले अग्रता बनाएको थियो। त्यस्तै ८० औं मिनेटमा भिनिसियस जुनियरले अर्को गोल थपे। दुबै गोल करिम बेन्जेमाले असिस्ट गरेका थिए। इन्जुरी समयमा रियलका रोड्रिगोमाथि खराब ट्याकल भएपछि पाएको पेनाल्टीको अवसरलाई बेन्जेमाले गोलमा परिणत गरिदिए। र, लिग लिडर रियल मड्रिडले रेलिगेशन जोनमा संघर्ष गरिरहेको अलाभेसमाथि ३-० को सहज जित निकाल्यो।
जितसँगै रियल मड्रिडले अंकतालिकामा ७ अंकको स्पस्ट अग्रता बनाएको छ। रिलले २५ खेलबाट ५७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सेभियाले २४ खेलबाट ५० अंक र तेस्रो र चौथो स्थानमा रहेका रियल बेटिस र एट्लेटिको मड्रिडले ४३ र ४२ अंक जोडेका छन्। अलाभेस भने २० अंक जोडेर तालिकाको १९ औं स्थानमा छ।
गएराति सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले ओसासुनामाथि ३-० गोलअन्तरले जित निकालेको थियो। त्यस्तै भिल्लारियलले ग्रानडामाथि ४-१ गोलअन्तरको जित निकाल्दा काडिज र गेटाफे १-१ गोलको बराबरीमा रोकिए।