सुर्खेत : जुनीचाँदे गाउँपालिका-४ का नरेश शाहीले सुर्खेत लेकबेँशी नगरपालिकाकी अञ्जना रानासँग तीन वर्षअघि भागी विवाह गरे। उनीहरु वीरेन्द्रनगरस्थित एक निजी विद्यालयमा कक्षा सातमा पढ्दै थिए, जतिबेला नरेश १४ र अञ्जना १३ वर्षकी थिइन्।
पढ्ने उमेरमा विवाह गरेको भन्दै केटाका परिवारले अस्वीकार गरे। जोडी अलग भएर सुर्खेतमै बस्यो। विस्तारै आर्थिक समस्याले घर खर्च टार्न मुस्किल भएपछि रोजगारीका लागि नरेश भारत हान्निए।
बिहे गरेको डेढ वर्ष नपुग्दै अञ्जना भने दोस्रो बिहे गरेर फरार भइन्। सँगै जिउने-बाँच्ने कसम खाएको यो जोडी विवाहको दुई वर्ष पनि टिक्न सकेन। आफैले रोजेकी श्रीमतीले साथ छाडेपछि नरेश अहिले एक्लो भएका छन्।
तीन महिनाअघि मात्र स्वदेश फर्किएका नरेश भन्छन्, ‘उसकै लागि परिवारबाट छुट्टिएँ, पढाइ छाडेर विदेश गएँ। धन कमाएर घर बनाउने सपना थियो, तर उसले म नफर्किँदै अन्तै टाप कसिछ।’
त्यसैगरी, सिम्ता गाउँपालिका-४ की पार्वती पोख्रेलले कक्षा ८ मा पढ्दै बिहे गरिन्। १४ वर्षको कलिलो उमेरमा विवाह गरेकी उनी १५ वर्षमै आमा बनिन्। घरव्यवहारमा परिपक्व नहुँदा परिवारका सदस्यहरुले हेला गरे। पढ्ने उमेरमा विवाह गरेका कारण उनका श्रीमान् घरखर्च धान्न मुस्किल भएपछि रोजगारीका लागि विदेश गए।
गाउँमा परिवारसँग मिलेर बस्ने अवस्था नभएपछि आठ महिनाको बच्चा बोकेर पार्वती माइतीको शरणमा पुगेकी छन्। ‘हतारमा विहे गरिएछ, न पढ्न पाएँ न त श्रीमान्को माया पाउन सकेँ। माइतीमा बसेपछि विदेशबाट फर्केर श्रीमान्ले अर्को बिहे गरे,’ पछुताउँदै काखको बच्चा देखाउँदै उनी भन्छिन्, ‘यो काखको बच्चासहित म अलपत्र परेँ, अब के गर्ने?’ सानैमा बिहे गरेकै कारण आफ्नो जीवन बर्बाद भएकोमा उनले दुखेसो पोखिन्।
अञ्जना र पार्वती कलिलै उमेरमा विवाह गर्ने प्रतिनिधि पात्र मात्र हुन्। कर्णाली प्रदेशमा उमेर नपुग्दै विवाह गरेका कारण पछुताउने धेरै जोडी भौंतारिएका छन्। हतारमा बिहे गरेका कारण अधिकांशको परिवार छिन्नभिन्न भएका छन्। हतारमा बिहे गर्ने र विस्तारै व्यवहारमा परिपक्व हुँदै गएपछि सम्वन्धविच्छेद गर्ने क्रम पनि एकाएक बढेको छ।
जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार ठाकुरप्रसाद पौडेलका अनुसार बालविवाह गर्नेहरु नै सम्बन्धविच्छेदका लागि धेरै आउने गरेका छन्। ‘अहिले अदालतमा दैनिक दुईचार जोडी सम्बन्धविच्छेदका लागि आउने गरेका छन्,’ उनले भने, ‘सबैभन्दा बढी कम उमेरमा विवाह गरेका जोडी छन्। जो अहिले विवाह गर्ने परिपक्व उमेरका देखिन्छन्।’
बिहेअघि एकअर्कासँग छुट्टिएर बस्न नसक्ने विवाहपछि व्यावहारिक हुन नसक्दा सम्बन्धविच्छेद गर्ने क्रम बढेको हो।
पढाइमा असर
बालविवाहका कारण अधिकांशले पढ्ने रहर पूरा गर्न पाएका छैनन्। विद्यालयमा पढ्दापढ्दै बिहे गरेका कारण घरव्यवहारमा व्यस्त हुनुपर्दा अधिकांशको पढाइ बीचमै छुट्ने गरेको छ। उमेर नपुग्दै विवाह गरेका किशोरी आमा बन्ने र किशोरहरु रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताले गर्दा उनीहरुको पढ्ने रहर अधुरै रहने गरेको हो।
दशरथपुरमा रहेको जनक मावि गमखोलामा कक्षा नौमा पढ्दै गर्दा बिहे गरेकी मनिषा बुढाको पढेर जागिर खाने रहर अधुरै रह्यो। १५ वर्षको उमेरमा विवाह गरेकी उनको कापीकलम खेलाउने हातमा छोराछोरी र घरव्यवहारको जिम्मेवारी थोपरिएको छ।
आर्थिक अभावका कारण देखाउँदै परिवारले नै विवाह गर्न दबाब दिएपछि बाध्यता आइलागेको उनी सुनाउँछिन्। अहिले दुई सन्तानकी आमा बनेकी मनिषा भन्छिन्, ‘सानैमा बिहे गरिदिए, पढ्ने उमेरमा घरको काममा व्यस्त भएँ। चाहेर पनि पढ्न पाइनँ, अब त पढ्ने रहर अधुरो हुने भयो।’ पढ्ने उमेरमा बिहे गरेका कारण आफूजस्तै धेरै साथीहरुले पनि पढाइ छाडेको उनले सुनाइन्।
उनी र उनका साथीजस्तै अधिकांश किशोर किशोरीले विद्यालय उमेरमा विवाह गरेका कारण पढाइबाट वञ्चित भएका प्रशस्त उदाहरण कर्णाली प्रदेशमा भेटिन्छन्।
किशोरीको स्वास्थ्यमा असर
कलिलो उमेरमा विवाह गर्दा किशोरीहरुको स्वास्थ्यमा गम्भीर असर देखिने गरेको छ। शारिरिक रुपमा परिपक्व नहुँदै धेरै सन्तान जन्माउँदा उनीहरु पीडित बन्न थालेका छन्। अधिकांश किशोरीमा पाठेघर खस्ने समस्या देखिएको छ। सानै उमेरमा बुहारीको भूमिकामा परिवारको बोझ थेग्नुपर्ने बाध्यताका कारण पनि किशोरीहरु शारीरिक र मानसिक रुपमा पीडित बन्ने गरेका छन्।
प्रदेश अस्पतालका डा. डम्बर खड्काका अनुसार विशेषगरी दुर्गम भेगका महिला पाठेघरसँग सम्बन्धित समस्या लिएर आउने गरेका छन्। ‘हेर्दा लाग्छ भर्खर बिहे गर्ने उमेर भए होला, तर पाठेघरको समस्या लिएर आउँछन्,' उनले भने, 'अहिले बढी समस्या लिएर आउने भनेको ग्रामीण भेगका महिला हुन्।’ उमेर नपुग्दै बिहे गर्ने, गह्रौं भारी बोक्ने, चाहिने जति आराम नपाउने हुँदा उनीहरुमा समस्या देखिने खड्काले बताए।
कर्णालीमा झण्डै ४५ प्रतिशत बालविवाह
सुर्खेतमा उमेर नपुग्दै विवाह गर्नेहरुको संख्या बढ्दै गएको छ। आधुनिक सञ्चारका साधनको पहुँच र अभिभावकले समेत वास्ता नगर्दा बालविवाह गर्ने क्रम बढेको हो। बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएका अभियन्ताले समेत बालविवाह ठूलो चुनौतीको रुपमा देखापरेको बताउँछन्।
चार महिनाअघि कर्णालीमा बालविवाहकै क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले पनि यहाँ कम उमेरमा विवाह गर्ने ४०–४५ प्रतिशत हाराहारीमा रहेका छन्।
बालविवाह न्यूनीकरण गर्न र यसलाई रोक्न विभिन्न चेतनामूलक अभियान सञ्चालन भए पनि उमेर नपुग्दै विवाह गर्नेहरुको संख्यामा कमी नआएको लामो समय यसै क्षेत्रमा काम गर्दै आएका सामाजिक अभियन्ता शुक्रबहादुर विकको अनुभव छ।
‘विभिन्न संघसंस्थामार्फत बालविवाह न्यूनीकरण भनेर अभियान, कार्यक्रम सञ्चालन गरियो, तर जो अभियानमा संलग्न थिए उनीहरुले नै कम उमेरमा बिहे गरेका धेरै घटना छन्,’ उनी भन्छन्, ‘कम उमेरमा विवाह गर्ने किशो किशोरीहरु शहर र गाउँतिर उस्तैजस्तो देखिन्छ, बालविवाह त चुनौतीका रुपमा देखिएको छ।’
यद्यपि, पाँच वर्षअघिको तुलनामा अहिले कम उमेरमा बिहे गर्नेको संख्यामा केही कमी भएको उनको दाबी छ। फेसनको रुपमा मौलाउँदै गएको प्रेम, प्रविधिको दुरुपयोग र अभिभावकले रेखदेख नगर्दा पनि बालविवाह बढ्दै गएको उनको आंकलन छ।
हरायो अभियान
सुर्खेतमा पहिलो पटक बालविवाहविरुद्धको अभियान तत्कालीन लेखफर्सा गाविसबाट थालिएको थियो। हालको लेखबेँशी नगरपालिकामा पर्ने उक्त स्थान जिल्लामै पहिलो बालविवाहमुक्त गाउँ भएको थियो। तर अभियान हराएसँगै बालविवाह गर्ने क्रम पनि बढ्दै गएको छ। विभिन्न गैरसरकारी संस्थाको पहलमा बालविवाहमुक्त गरिएका क्षेत्रमा पछिल्लो समय बालविवाहको दर बढ्दै गए पनि त्यसतर्फ कसैको ध्यान पुगेको छैन।
तामझाम गर्दै सुर्खेतमा मात्रै एक दर्जनभन्दा बढी तत्कालीन गाविसहरु बालविवाहमुक्त नै घोषणा भए। उमेर नपुग्दै विवाह गर्ने कलिला जोडी जग्गेबाटै खोसिए। जिल्लालाई नै बालविवाहमुक्त घोषणा गर्ने उदेश्यसहित सुरु भएको उक्त अभियान पछिल्ला आठ वर्षदेखि अलपत्र छ।
दातृ निकायको सहयोगमा अभियान सञ्चानल हुने र उनीहरुको समयावधि सकिएसँगै अभियान हराएर जाने गरेको नागरिक समाजका अगुवा पिताम्बर ढकाल बताउँछन्। ‘दातृ निकायको सहयोगमा त्यस्ता अभियान केही समयका लागि चल्छन्, जब उनीहरुको अवधि सकिन्छ, अभियान पनि हराएर जान्छन्,’ उनले भने, ‘दीर्घकालीन बनाउन त सरकारी तहबाटै पहल हुनुआवश्यक छ।’
सरकारी निकायसँगै छैन योजना
बालविवाह न्यूनीकरणका लागि सरकारी निकायबाट पनि कुनै पहल हुन सकेको छैन। स्थानीय र प्रदेश सरकारसँग पनि कुनै योजना देखिँदैन।
स्थानीय सरकारका रुपमा नगरपालिका र गाउँपालिका तथा प्रदेश सरकारले पनि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा बालविवाह न्यूनीकरणका लागि ठोस योजना समावेश गर्न सकेका छैनन्। यसले पनि बालविवाह रोक्न स्थानीय र प्रदेश सरकार गम्भीर नभएको छर्लंग देखिएको छ।
लेखबेँशी नगरपालिकाका मेयर गगनसिं सुनार बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भएको दाबी गर्छन्। यद्यपि, नगरपालिकासँग बालविवाहकै लागि भनेर कुनै ठोस कार्यक्रम छैन। उनले भने, ‘लक्षित वर्गअन्तर्गत बालबालिकाको रकमबाटै यस्ता सचेतानामूलक अभियान भइरहेका छन्।’
प्रदेशको सामाजिक विकास मन्त्रालयसँग कुनै पनि ठोस योजना र कार्यक्रम छैन। ‘हामीसँग अहिले विभिन्न खालका सचेतना मूलक कार्यक्रमका लागि बजेट त छ। तर, बालविवाह न्यूनीकरणकै अभियानका लागि भनेर त्यो शीर्षककमा छुट्टयाएका छैनौँ,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आवश्यकताअनुसार योजना र बजेट व्यवस्था गर्न सकिने अवस्था छ। अहिले हामीसँग बालविवाह, छाउपडी, छुवाछुत, बोक्सीप्रथाविरुद्ध सचेतना मूलक कार्यक्रमका लागि बजेट छ।’
सरकारी तवरबाटै योजना नहुँदा यस्ता सामाजिक अभियान गैरसरकारी संस्थाको भरमा छन्। अहिले कर्णालीमा दर्जनभन्दा बढी गैरसरकारी संस्था दातृ निकायको भरमा कार्यक्रम गरिरहेका छन्। त्यस्ता कार्यक्रम दीर्घकालीन नबन्दा बालविवाहको अवस्था जहाँको तहीँ छ।