PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

८ साना वाम घटकको निष्कर्ष : एमसीसी पारित गर्ने अन्तिम कसरतमा सरकार, संसद् भवनदेखि प्रशासन घेराउ गर्ने



पहिलोपोस्ट

८ साना वाम घटकको निष्कर्ष : एमसीसी पारित गर्ने अन्तिम कसरतमा सरकार, संसद् भवनदेखि प्रशासन घेराउ गर्ने
File Photo

काठमाडौं : संसद्‌भित्र र बाहिर रहेका ८ वटा साना वाम घटकले सरकार एमसीसी संसद्‌बाट पारित गराउने अन्तिम कसरतमा रहेको निष्कर्ष निकाल्दै एमसीसीविरुद्धको संघर्षलाई बढाउने निर्णय गरेको छ।

शनिबार बुद्धनगरस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त बैठकले 'एमसीसीविरूद्ध नेपाली जनताको संघर्ष गम्भीर मोडमा पुगेको' समेत निस्कर्ष निकालेको छ। 

‘अमेरिकी राजदूत र्‍याण्डी बेरीको ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसद्‌मा टेबुल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुष्टि गरेको छ,’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘एमसीसी जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसंघर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको छ।'

बैठकले आन्दोलन र राष्ट्रिय मुक्तिको आवश्यकता रहेको निष्कर्षसहित ६ वाम पार्टी र २ मोर्चाले आइतार (आज) संसद् भवन बानेश्वर घेराउ गर्नुका साथै देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तयारी गरेको छ।

एमसीसी विरोधी संयुक्त मोर्चामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा रहेका छन्।

राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा सहभागी नेकपा मसालको चुनावी मोर्चा हो भने देशभक्त जनगणतान्त्रिक मोर्चा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell