
काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्मा टेवल गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सकिएको बैठकले यस्तो निर्णय गरेको हो।
आज बस्ने प्रतिनिधिसभामा एमसीसी टेवल गर्ने सरकारका प्रवक्त, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले बताए। एमसीसीको विषयमा अब सडकबाट नभएर संसदबाट नै त्यसको उत्तर खोजी गर्ने समेत उनले बताएका थिए।
मन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रकृया सुरु गरेकाले आफुहरुले सरकारको अभिछिन्न उत्तराधिकारीको रुपमा संसदमा टेबल गर्न लागएको बताए। एमसीसीको विषयमा बाँकी जवाफ र उत्तर नेकपा एमालेसँग खोज्न बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले संचारकर्मीलाई आग्रह समेत गरे।
एमसीसी प्रयोजन संसदमा दर्ता गराएको अर्को विगतको सरकार केपी शर्मा ओलीको नेतृत्वको सरकारले यसलाई संसदमा दर्ता गराएको हो। 'सरकार अभिछिन्न उत्तराअधिकारीको रुपमा हामीले यसलाई आज टेबुल गराउँछौं। र यसपछि अहिले प्रमुख प्रतिपक्ष दल एमाले जतिखेर सरकारमा हुनुहुन्थ्ययो। त्यसको जवाफ तपाइहरुलाई दिनुपर्छ। उहाँहरुसँग तपाइहरुले सोध्नुहोला,' मन्त्री कार्कीले भने।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ।
यसअघि पटक-पटक बसेको बैठकले सहमति जुटाउन सकेको थिएन। सरकारको नेतृत्व गरेको कांग्रेस एमसीसीको पक्षमा एकमत भए पनि सत्ता साझेदार दलहरु विभाजित थिए। हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले भने एमसीसीसँगको सम्झौतालाई नरोक्ने र प्रतिनिधिसभामा पेस गर्न दिने निर्णय गरेको थियो।