काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्नि सापकोटालाई भेटेका छन्। सत्तारुढ गठबन्धनको बैठकपछि प्रचण्डले सापकोटालाई भेटेका हुन्।
गठबन्धनको बैठकमा सत्तारुढ दलहरु बिच अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गर्ने सहमति भइसकेको छ। यसअघि संसदमा एमसीसी पेश गर्न माओवादीले अवरोध गरेको थियो।
सभामुखसँग भेटेर प्रचण्डले संसदमा गठबन्धनमा भएको सहमतिबारे जानकारी दिएका हुन्। भेटमा प्रचण्डले सभामुख सापकोटालाई प्रतिनिधसभामा एमसीसी अघि बढाउन ‘ग्रिन सिग्नल’ दिएको बताइएको छ।
सभामुखले यसअघि आफू अम्पायरमात्रै भएको भन्दै निर्णय लिने दलहरु भएको बताएका थिए।
प्रतिनिधिसभामा आजै एमसीसी पेश गर्ने योजना सरकारको छ। सभामुखले दलहरुसँग छलफल गरेर आजै एमसीसी पेश गर्न तयारी गरेका छन्।