काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले आजको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई कार्यसूचीमा राखेको छ। सत्तारुढ गठबन्धन बिच एमसीसी संसदमा पेश गर्ने सहमति भएपछि आज बसेको कार्यव्यवस्था समितिले कार्यसूचीमा एमसीसी प्रवेश गराएको हो।
गठबन्धनले एमसीसी अघि बढाउने सहमति गरे पनि सत्ता घटक दलका नेताहरुले उक्त सहमतिबारे बिरोध गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु रेखा शर्मा र जयपुरी घर्तीले असहमति जनाएका छन्। उनीहरुले सभामुखलाई नोट अफ डिसेन्ट लेखेका छन्।
यसअघि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि विरोध गरेका थिए। आज १ बजेका लागि बोलाइएको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा तीन जनाले सभामुख अग्निप्रसाद सापकोटा सामु लिखित असहमति जनाएका हुन्। आजको बैठकले एमसीसी टेवल गर्ने र अर्को बैठक फागुन १२ गते बस्ने कार्यसूची तय भएको छ।
यसअघि एमसीसी टेवल गर्ने विषयमा प्रचण्ड र सभामुख सापकोटाबिच छलफल भएको थियो।