PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

हिमालयन शेर्पा क्लबलाई हराउँदै रेलिगेशनको भयबाट जावलाखेललाई राहत



पहिलोपोस्ट

हिमालयन शेर्पा क्लबलाई हराउँदै रेलिगेशनको भयबाट जावलाखेललाई राहत
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले शेर्पामाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको १५ औं मिनेटमै रुप बहादुर लामाले गोल गर्दै जावलाखेलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको हिमालयन शेर्पाले ७१ औं मिनेटमा अमृत श्रेष्ठको उत्कृष्ट एक्रोबेटिक गोलको सहायतामा खेल बराबरीमा ल्यायो। तर, ८८ औं मिनेटमा जावलाखेलले फेरि खेलमा अग्रता बनायो। यसपटक ओनगुना जुनियरले जावलाखेलका लागि गोल गरेका थिए। जितसँगै जावाखेल रेलिगेशनको भयबाट माथि उठेको छ।

जितपछि जावलाखेलका प्रशिक्षक किशोर कुमार केसीले खेलहरुबारे व्यवस्थापनसँग बसेर समीक्षा गर्ने बताए।

'१२ खेलमा आएर रेलिगेशनबाट बचेका छौं। ९० प्रतिशत बच्छौं भनेर पनि आएका हौं। टिममा सुधारको आवश्यकता छ,' उनले लिगमा आफ्नो प्रदर्शनबारे भने, 'आर्मीसँग इन्ज्युरीसमयमा बिग्रियो। फ्रेन्ड्स क्लबसँग बिग्रियो। बाँकी खेलमा राम्रै दिएका छौं।'

त्यस्तै पराजय पछि स्कोर गर्न नसक्नु आफ्नो लिगभरीको कमजोरी रहेको शेर्पाका प्रशिक्षक युगल किशोर राईले बताए।

'फुटबलमा स्कोर मुख्य हो। एउटा किपरको ब्लन्डर मिस्टेकले गोल खान पुग्यौं। नहुनु पर्ने गोल भए,' उनले भने, 'रेलिगेशन टर्‍यो भनेर लत्तो छाडेको होइन। छाडेको भए त्यो गोल लाग्दैन थियो हो। हावाको स्वीङ पनि धेर थियो। किपरले पनि त्यसै भने।'

योसँगै अंकतालिकामा जावलाखेल र हिमालयन शेर्पा क्लबको समान १३ अंक छ। आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन्।

लिगमा मछिन्द्र क्लब च्याम्पियन बनिसकेको छ भने च्यासल रेलिगेशनमा परिसकेको छ। अब रेलिगेशनबाट बच्न फ्रेन्ड्स क्लब, ब्रिगेड ब्वाइज क्लब र नेपाल पुलिस क्लब संघर्षरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell