लामो समयदेखि सत्ता गठबन्धनका शीर्ष नेताबिचको छलफलपछि आज प्रतनिधिसभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषय प्रवेश गरेको छ। जतिखेर बालुवाटारमा गठबन्धनका शीर्ष नेता संसदमा टेवल गर्न सहमति जनाइरहेका थिए, त्यतिखेर बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शनका लागि उत्रिसकेका थिए, उनीहरुका कार्यकर्ता। सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेक सबैजसो दल सडकमा ढुंगामुडासहित उपस्थित थिए विरोध प्रदर्शनका लागि। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गर्यो, पानीको फोहरा हान्यो, रबरको गोली पनि चलायो। सत्ताधारी दलहरुको दोहोरो चरित्रका कारण बानेश्वर आज फेरि रणभूमिमा रुपान्तरित भयो। आन्दोलनमा उत्रिएका युवा र प्रहरी घाइते भए। बानेश्वर चोकमात्र होइन, नजिकका गल्ली गल्ली समेत हिंसात्मक प्रदर्शन र त्यसविरुद्धको प्रतिकारको साक्षी बन्न पुगे। आन्दोलन अराजकतातिर उक्लिनु र प्रहरीले दमन गर्नु दुवै गलत हुन्।
बानेश्वरमा जति तोडफोड भए, जतिका रगत बगे, आन्दोलनकारी या प्रहरी जो सुकै होउन, जिम्मेवारी दोहरो चरित्र भएका नेताले लिनै पर्छ। प्रोपागान्डामा पोख्त नेताका अभिव्यक्ति कार्यकर्ता तहमा यसरी घोलियो कि - हिंसा स्वभाविक हिसाबले निम्तियो। एमसीसीलाई गिजोल्दै त्यसबाट राजनीतिक प्रतिफलको आशा गर्ने प्रवृत्तिले युवाहरुलाई आगो ओकल्ने बनायो। शीर्ष नेताहरु आफ्नो सत्ता स्वार्थसँग संसदमा एमसीसी टेवल गर्न तयार भए। तर, शीर्ष तहको स्वार्थमा बलिका बोका बनाइए आफ्नै पार्टीका कार्यकर्ता। त्यसको दृश्य आइतवार बिहानैदेखि साक्षतकार भइरहेको थियो। बालुवाटारमा नेताहरु सहमति गरिरहेका थिए - कार्यकर्ता सडकमा उग्र बनिरहेका पनि थिए - एकै समयमा। राष्ट्रियताको आवरणमा रचिएको आजको राजनीतिक प्लटले कसैलाई क्षति पुर्याएको छ भने त्यो तिनै राजनीतिक दल र त्यसलाई नेतृत्व गर्ने नेताहरुमाथि नै। त्यसैले बानेश्वरमा सुरक्षाकर्मी हुन् या आन्दोलनकारी जो पीडित भए तिनका सुत्रधार सडकमा उत्रिएका यी दुवै समूह होइनन् - सत्ता र सडक दुवैको मोह गर्ने राजनीतिक शक्ति र तिनलाई नेतृत्व दिनेहरु नै हुन्।
एमसीसी पारित गर्ने विषयमा कांग्रेस प्रष्ट छ। तर, उसले यसको आवश्यकतालाई जनस्तरमा पुर्याउन सकेको छैन। सत्तामा रहेका र सत्ता बाहिर रहेका दलका नेताहरुले फैलाएको 'अफवाह' चिर्न कांग्रेस असफल छ। कांग्रेसकै कतिपय पदाधिकारी एमसीसीबारे मौन छन् - आगामी निर्वाचनमा आउनसक्ने सम्भावित चुनौतीलाई लिएर। त्यसबाहेक सत्तामा रहेका कांग्रस इतर सबै दल पूरै - अलमलिएका छन्। आफू सत्तामा रहेर सडकमा कार्यकर्ता उतार्ने शैलीले नै हो - अहिलेको अवस्था निम्त्याएको। सरकारमा पनि रहनुपर्ने र सरकारको जिम्मेवारीबाट पनि पन्छिँदै पानीमाथिको ओभानो हुने लोभमा परेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले यसको जवाफ दिनैपर्छ। प्रश्न प्रहरीको लाठी खाने प्रचण्ड र नेपालका कार्यकर्ताले सोध्नुपर्छ - उनीहरुको शीर्ष नेतृत्वलाई : सत्तामा बसेर आफ्नै कार्यकर्तामाथि किन प्रहार गरियो? एमसीसीलाई लिएर शीर्ष नेतृत्वले देखाएको द्वैत चरित्रमाथि पनि प्रश्न आवश्यक छ। कुलमान घिसिङलाई एमसीए नेपालको बोर्ड मेम्बर पनि बनाउने अनि त्यसको विरुद्ध आन्दोलन पनि चलाउने प्रचण्डलाई माओवादीका कार्यकर्ताले सोध्नैपर्छ। अझ आफै सरकारमा बस्ने अनि सरकारले दमन गर्यो भनेर कार्यकर्तालाई सान्तवना दिने उनको चरित्रले कस्तो निकास देला ? माधव नेपालका कार्यकर्ताले पनि उस्तै प्रश्न गर्नै पर्छ। नालायक नेतृत्वका लहडी कार्यकर्तामात्र बनेर मुलुकको राजनीति अगाडि बढ्न सक्दैन। संसदमा हुने बहस र यसलाई पास गर्ने या नगर्ने विषयमा पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले केन्द्रले दोहोरो चरित्र नदेखाउन्। कार्यकर्ता पनि भ्रमितमात्र नहोउन्। फेरि बानेश्वरमा हिंसाको यही स्वरुप देख्न नपरोस्।