
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो १ बजे सुरु हुनेछ।
आजको खेलमा रेलिगेशन जोनमा रहेको ब्रिगेड ब्वाइज जितको दवाबमा हुनेछ। ६ अंक जोडेको च्यासल युथ क्लब रेलिगेशनमा परिसक्दा ७ अंक सहित १३ औं स्थानमा रहेको ब्रिगेडलाई अब हार या बराबरीको विकल्प रहँदैन। बराबरी भएको खण्डमा पनि समीकरण त बाँकी रहन्छ तर शीर्ष लिगमा बच्न थप कठीन भने हुनेछ। आजको खेलमा पराजय ब्यहोरे रेलिगेशनमा जानेछ भने जित निकाले फ्रेन्ड्स क्लबसँग अंक बराबरी हुनेछ। र, रेलिगेशनमा जाने दोस्रो टोलीको निर्क्योल गर्न अर्को चरणमा जानु पर्नेछ।
अर्कोतर्फ सानदार प्रदर्शन गर्दै आएको सातदोबाटो आजको खेलमा जित निकाल्दै वरीयता सुधार्न चाहन्छ। १५ अंक जोडेर तालिकाको सातौं स्थानमा रहेको सातदोबाटोले आजको खेलमा जित निकाले थ्री स्टार क्लबलाई हेडटु हेडमा पछी पार्दै शीर्ष पाँचमा स्थान बनाउने छ। दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका टोलीबीचको अंकदुरी तीन अंकको पनि नरहेकोले सातदोबाटोलाई अर्को चरणबाट अझै वरीयता सुधार्ने अवसर पनि मिल्न सक्छ।