
अमेरिकाका राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ताका सहमत भएका छन्। युक्रेनको विषयलाई लिएर फ्रान्सले प्रस्ताव गरेको सम्मेलनमा पुटिनसँग वार्ताका लागि बाइडेनले सैद्धान्तिक सहमति दिएको बीबीसीले उल्लेख गरेको छ।
फ्रान्सले प्रस्ताव गरेको सम्मेलन रसियाले युक्रेनमाथि आक्रमण नगरेको खण्डमा मात्र हुने ह्वाइट हाउसले जनाएको छ। उक्त वार्ताबाट युरोपमा बढेको सुरक्षा संकटको बारेमा कुटनीतिक समाधान खोजिनेछ।
फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोन र पुटिनबिच भएको दुईवटा टेलिफोन वार्तापछि सम्मेलनको प्रक्रिया अघि बढाइएको हो। दुई नेताबिच पहिलो टेलिफोन वार्ता करिब ३ घण्टा चलेको थियो। सोमबार बिहानै भएको अर्को वार्तामा मक्रोन र पुटिनले करिब १५ मिनेट कुराकानी गरेका थिए।
युक्रेनसँग जोडिएको सीमामा रसियाले सेना तैनाथी गरे पछि अमेरिका, बेलायत लगायतका राष्ट्रले रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्ने सक्ने चेतावनी दिँदै आएको छ। तर, रसियाले भने उक्त दाबीको खण्डन गरेको छ। साथै, सीमाबाट समेत रसियाले सेना हटाएको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रवार मात्रै रसियाली राष्ट्रपति भ्लादमिर पटिनले युक्रनेमाथि आक्रमण गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका थिए।