काठमाडौं : आठौं महाधिवेशनबाट पार्टी संगठनमा पूर्ण नेतृत्व चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको तयारी थाल्न नेता कार्यकर्ताका लागि सर्कुलर जारी गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको सर्कुलरमा केन्द्रीय कमिटी बैठकबाट पार्टीको योजना तथा कार्यक्रम नबन्दासम्म निर्वाचन तयारीको कामलाई प्रभावकारी बनाउन परिपत्र जारी गरिएको उल्लेख छ। विधानमा भएको व्यवस्था अनुसार जिल्ला, नगर र वडा लगायतका कमिटीलाई पूर्णता दिनुपर्ने सर्कुलर जारी गरिएको छ।
सबै पार्टीका गतिविधिलाई वडा र टोलमा केन्द्रित गर्ने माओवादीले भनेको हो।
केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक तत्काल बस्नुपर्ने पनि सर्कुलरमा उल्लेख छ।
'सम्भव भएसम्म केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागितमा प्रदेशको बैठक तत्काल बस्ने,' सर्कुलरमा भनिएको छ। नगर/ गाउँ पालिकामा निर्वाचन मूल परिचालन समिति बनाउने माओवादीको योजना छ। मूल परिचालन समितिले वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको संक्षिप्त रिपोर्ट तयार गर्न प्रचण्डले निर्देशन दिएका छन्।
अघिल्लो स्थानीय तहको निर्वाचनको विजय र पराजयको कारण खोज्न पनि प्रचण्डले निर्देशन दिएका छन्।
'अहिलेको मतदाता नामावलीका आधारमा पार्टीहरुको मत संख्या, तटस्थ मत, परिवर्तन हुनसक्ने मतको आंकलन तथा विश्लेषणसहित पार्टीले विजय हासिल गर्न अवलम्बन गर्नुपर्ने रणनीतिहरु तयार गर्ने,' सर्कुलरमा भनिएको छ।
यस्तै, अध्यक्ष प्रचण्डले पार्टीलाई विजयी बनाउनका लागि समूहहरुको समस्या र आवश्यकता पहिचान गर्नुपर्ने बताएका छन्।
प्रचण्डले जारी गरेको सर्कुलरमा धामी, झाक्री, धार्मिक संगठन, ज्योतिष र धर्मगुरुहरुको नामावली संकलन तथा राजनीतिक झुकाव र आवश्यकता पहिचान गर्न पनि नेता कार्यकर्तालाई माओवादीले निर्देशन दिएको छ।