काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत समूह 'बी'को आज सम्पन्न खेलमा नेपालले क्यानडामाथि सहज जित निकालेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले ८ विकेटले जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।
सुरुवाती ब्याटिङ गरेको क्यानडाका लागि डायलन हेलेयरले सर्वाधिक अविजित २४ रन बनाउँदा कप्तान नवनीत धलिवलले १८ रन, ओपनर रायन पठानले १४ रन र सलमन नजारले १० रन बनाए। त्यसबाहेका ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १२ रन दिएर सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी र अविनास बोहोराले समान २ विकेट लिए। त्यस्तै कुशल मल्लले १ विकेट लिए।
नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट साझेदारी गर्दै क्रमश अविजित ३४ र २७ रन बनाए। त्यसबाहेक आशिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल डक आउट भएका थिए।
क्यानडाका लागि कलीम सना र सलमन नाजरले समान १ विकेट लिए।
योसँगै नेपाल समूह 'बी' विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले समूह ए को उपविजेता यूएईसँग भोलि पौने ४ बजे प्रतिस्पर्धा गर्नेछ।
समूह ए को आजै भएको खेलमा आयरल्याण्डले जर्मनीलाई ७ विकेट र यूएईलाई बहराइनले २ रनले हराएसँगै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ। समूह ए बाट विजेता बन्दै आयरल्याण्ड र उपविजेता बन्दै यूएई सेमिफाइनल प्रवेश गरेको हो।