PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमसीसी पास र गठबन्धन जोगाउन रामचन्द्र पौडेलले भेटे प्रचण्ड, माधव र उपेन्द्रलाई, के भयो कुराकानी?



पहिलोपोस्ट

एमसीसी पास र गठबन्धन जोगाउन रामचन्द्र पौडेलले भेटे प्रचण्ड, माधव र उपेन्द्रलाई, के भयो कुराकानी?

काठमाडौँ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गराउन र हालको गठबन्धन जोगाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दौडधुप बढाएका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेता पौडेलले एमसीसीबारे छलफलका लागि सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पहिलो भेट गरे।

सिंहदरबारमा भएको भेटमा जसपासँग सैद्धान्तिक मतभेद आफूले नभेटेको पौडेलले बताए। 'सैद्धान्तिक मतभेद केही भेटिनँ समाजवादीसँग,' भेटपछि वरिष्ठ नेता पौडेलले भने।

यो पुस्ता असफलतातिर जान लागेको चिन्ताले आफू यस्तो नहोस् भन्ने प्रयत्नमा लागेको उनको भनाई थियो। 'हेर्दाहेर्दै हाम्रो पुस्ता असफल हुन लाग्यो। मुलुक नै असफल स्टेटतिर जाने हो कि भन्ने छ। यसो नहोस् भनेर म प्रयत्नशील छु,' उनले भने।

यसअघि एमसीसी पारित गराउन आफूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग समेत भेट गरेको पौडेलले बताए। एमसीसी जस्तो सहयतामा किचलो गरेमा ओली र पौडेलको पुस्ता नै असफल हुने भनाई आफूले ओलीसँग राखेको उनको भनाई थियो।

अमेरिकी सरकारले नेपालको विद्युत बजारमा लैजान सहयोग गर्न र सडक बनाउनका लागि एमसीसी परियोजना नेपालमा आएको उल्लेख गर्दै पौडेलले थप सहयोगको अपेक्षा समेत गरे।

सडकमा चर्को विरोधका बीच एमसीसी परियोजना पारितका लागि आइतबार सदनमा टेबल भएको छ। योसँगै राष्ट्रको ध्यान संसदतिर गएको पौडेलले बताए।

'राष्ट्रको ध्यान अब संसदतिर केन्द्रित भयो। यो अब सडकबाट सदनतिर गयो,' उनले भने।

जसपा अध्यक्षसँग भेटेपछि पौडेलले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन्। प्रचण्डसँग आफूले एमसीसी पास हुनुपर्ने र गठबन्धन फुटाउन नहुने प्रस्ताव राखेको पौडेलले बताए।

'एमसीसी पनि फेल हुनु भएन, गठबन्धन पनि फेल हुनु भएन, प्रचण्डजीसँग मैले यही कुरा राखेँ,' पौडेलले भने।

प्रचण्डले आफ्नो कुरामा सहमति जनाएको उनको दाबी छ। 'प्रक्रियामा गइसक्यो। हामी गठबन्धन भत्काउने पक्षमा पनि छैनौ,' प्रचण्डको भनाईलाई उद्धृत गर्दै पौडेलले भने।

प्रचण्डपछि पौडेलले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेका छन्। तीनै नेतालाई पौडेलले सिंहदरबारमा भेट गरेका हुन्। नेपालसँगको भेट पनि सकारात्मक रहेको पौडेलले बताए।

पछिल्लोपटक पौडेलले एमसीसीको विषयमा एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेललाई समेत भेटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell