
पोखराः गण्डकी प्रदेश सरकारको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आमसञ्चार विधेयकलाई अघि बढाउने तयारी भएको बताएका छन।
मन्त्रालयले हालसम्म गरेको प्रगति सार्वजनिक गर्ने क्रममा मन्त्री थापाले पत्रकारको हित बमोजिम विधेयक ल्याउने बताएका हुन्। उनले सरोकारवाला र विज्ञसँग छलफल गरेर विधेयक ल्याउने प्रतिबद्धता जनाए।
'विधेयकलाई परिमार्जन गरेर उत्कृष्ट, सातै प्रदेशमा नमुना विधेयकको रुपमा अघि बढाउने छौँ। अहिलेकै अधिवेशनमा आमसञ्चार विधेयकलाई अघि बढाउने प्रयासमा छौँ,' मन्त्री थापाले भने।
२९ भदौमा बसेको प्रदेश सभा बैठकमा मन्त्री थापाले सो विधेयक पेस गरेका थिए।
यस्तै मन्त्रालयले सूचनाको हक सम्बन्धी विधेयक ल्याउने तयारी पनि गरेको छ। मन्त्री थापाले विधेयकको प्रारम्भिक मस्यौदा तयार भइसकेको जानकारी दिएका छन्।
मन्त्रालयले प्रदेश कानुनमा संशोधन गर्न बनेको विधेयक समेत आगामी अधिवेशनमा पेस गर्ने तयारीमा रहेको बताए। प्रदेश कानुन पुनरावलोकन समितिले विषयको पहिचान गरेको र केही प्रदेश ऐन संशोधन गर्ने विधेयकको प्रारम्भिक मस्यौदा तयार भएको उनले जनाए।
उनले सूचना प्रविधि पार्क निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न कार्यशर्त स्वीकृत भएको पनि जनाएका छन्।