काठमाडौं: नेपाली क्रिकेट टोली टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'बी'को सोमबार सम्पन्न खेलमा नेपालले क्यानडामाथि ८ विकेटको सहज जित निकालेसँगै सेमिफाइनलको यात्रा तय गरेको हो। आजै सम्पन्न समूह 'बी'कै अर्को खेलमा ओमनले फिलिपिन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै समूहको उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो।
समूहको खेलमा नेपालले ओमनमाथि ३९ रनको, फिलिपिन्समाथि १३६ रनको र क्यानडामाथि ८ विकेटको जित निकाल्दै समूह चरणबाट शतप्रतिशत नजिता निकालेर सेमिफाइनल प्रवेश गर्यो।
अर्कोतर्फ ओमन पहिलो खेलमा नेपालसँग ३९ रनले पराजित भए पनि दोस्रो खेलमा पुनरागमन गर्दै क्यानडालाई ९ विकेटले हराएको थियो। त्यस्तै आज सम्पन्न खेलमा फिलिपिन्सलाई पनि ९ विकेटकै सहज जित निकाल्न सफल भयो। र, समूहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो।
समूह 'ए' मा भने रोचक समीकरणबाट आयरल्याण्ड र यूएई सेमिफाइनलमा पुगे। आयरल्याण्ड, यूएई र बहराइनको समान ४ अंक रहेकोमा रनरेटका आधारमा बहराइनलाई पछिपार्दै यी दुई टोली सेमिफाइनलमा पुगेका हुन्। पहिलो खेलमा यूएईसँग १८ रनले पराजित भएको आयरल्याण्डले दोस्रो खेलमा पुनरागमन गर्दै बहराइनलाई २१ रनले हराएको थियो। त्यस्तै आज सम्पन्न खेलमा जर्मनीलाई ७ विकेटले हराउँदा आयरल्याण्डले यूएईलाई रनरेटमा पछि पार्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्यो।
अर्कोतर्फ आयरल्याण्डलाई १८ रनले हराएको यूएई दोस्रो खेलमा जर्मनीलाई २४ रनले हरायो। त्यस्तै सोमबार सम्पन्न खेलमा बहराइनसँग २ रनको अप्रत्यासित हार ब्यहोर्दा आयरल्याण्डसँग रनरेटमा पछि पर्दै उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
सेमिफाइनलमा समूह 'ए' को विजेताले समूह 'बी' को उपविजेतासँग र समूह 'बी' को विजेताले समूह 'ए' को उपविजेतासँग खेल्नेछन्। अर्थात् समूह 'ए' को विजेता आयरल्याण्डले समूह 'बी' को उपविजेता ओमनसँग खेल्नेछ भने समूह 'बी' को विजेता नेपालले समूह 'ए' को उपविजेता यूएईसँग खेल्नेछ। दुबै खेल भोलि दिउँसो पौने ४ बजे सुरु हुनेछन्।