PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

पूर्वी युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने तयारीमा भ्लादमीर पुटिन!



पहिलोपोस्ट

पूर्वी युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने तयारीमा भ्लादमीर पुटिन!
Photo : RT

रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।  युक्रेन र रसियाबिचको तनावपूर्ण अवस्थालाई लिएर विश्व नै तरंगित भइरहेको अवस्थामा पुटिनले सुरक्षा परिषद् बैठक बोलाएर पूर्वी युक्रेनको दोनेत्स र लुहान्स्कलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिने बारे विचार राखेको बताइएको छ। यी दुई क्षेत्रमा रसिया समर्थित समूहको वर्चश्व रहेको छ। उक्त क्षेत्रमा रसिया समर्थित समूह र युक्रेनी सेनाबिच भिडन्त हुँदै आएको थियो।

पुटिनले दोनेत्स र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्ने बारेमा सुरक्षा परिषद बैठकमा विचार गर्न भनेका थिए। बैठकको अन्त्यसम्म उनले निर्णय दिन भनेका थिए। बैठकको अन्त्यमा पुटिनले दोनेत्स र लुहान्स्कमालाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिनेबारे आज फैसला लिने घोषणा गरेका थिए।

पुटिनले उक्त निर्णयको बारेमा फ्रान्स र जर्मनीका नेताहरुलाई भनिसकेको रोयटर्सले उल्लेख गरेको छ।

सोमवार दोनेत्स र लुहान्स्कमा विद्रोहको नेतृत्व गरेका नेताहरुले रसियालाई उनीहरुको क्षेत्रलाई स्वतन्त्र घोषणा गर्न माग गरेका थिए। पुटिनले टेलिभिजन सम्बोधन गर्दै उक्त घोषणा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमको दाबी छ।

यता, पुटिनको उक्त घोषणालाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति भ्लोदमेयर जेलनेस्कीले पनि सुरक्षा परिषदको बैठक बोलाएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोन पनि पुटिनको कदमलाई लिएर खुशी नभएको बताइएको छ। माक्रोनले युरोपमा बढेको सुरक्षा संकटको बारेमा कुटनीतिक माध्यमबाट निकास खोज्ने प्रयास गरिरहेको बेला क्रेमलिनको नयाँ कदमले उनी सशंकित भएको बताइन्छ। माक्रोनले पुटिनसहित अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य नेताहरु सम्मिलित सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको बेला पुटिनले युक्रेनी क्षेत्रलाई स्वतन्त्र घोषणा गर्ने तयारी गरेका हुन्। 

युक्रेनसँग जोडिएको सीमामा रसियाले सेना तैनाथी गरे पछि अमेरिका, बेलायत लगायतका राष्ट्रले रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्ने सक्ने चेतावनी दिँदै आएको थियो। तर, रसियाले भने उक्त दाबीको खण्डन गरेको थियो। साथै, सीमाबाट समेत रसियाले सेना हटाएको दाबी गरेको थियो।अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रवार मात्रै रसियाली राष्ट्रपति भ्‍लादमिर पटिनले युक्रेनमाथि आक्रमण गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका थिए। यस्तैै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन आक्रमण गर्ने रसियाको योजना सुरु भइसकेको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell