PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विश्वकपमा पुग्न नेपाल एक कदम मात्र पछाडि, आज यूएईमाथि जित आवश्यक



मुकुन्द घिमिरे

विश्वकपमा पुग्न नेपाल एक कदम मात्र पछाडि, आज यूएईमाथि जित आवश्यक
फाइल फोटो। क्यान

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ। आज यूएईलाई हराए नेपालले अस्ट्रेलियामा हुने टी २० क्रिकेट विश्वकपमा स्थान पक्का गर्नेछ। अर्थात्, नेपाल विश्वकपबाट एक कदम मात्र पछाडि छ। आजको खेलमा जित निकाल्न सके सन् २०१४ मा विश्वकप खेलेको नेपालले २०२२ मा दोस्रो पटक विश्वकप खेल्नेछ।

पछिल्ला चार खेलमा एकअर्काविरुद्ध दुवै टोलीले समान २ खेल जितेका छन्। विश्वकप क्वालिफायर्सअघि पनि यही महिना नेपाल र यूएई आमनेसामने भएका थिए। जसमा यूएईले नेपाललाई २५ रनले हराएको थियो। यूएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६७ रनमा समेटिएको थियो। त्यसअघि सन् २०१९ मा भएका दुई खेलमा नेपालले जित निकालेको थियो भने एउटा खेलमा यूएईले जित निकालेको थियो।

पछिल्ला खेल हेर्दा यूइईको बलियो पक्ष ब्याटिङ देखिन्छ। जारी प्रतियोगितमा पनि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि यूएईकै छन्। छनोटका समूह चरणका तीन खेलमा भारतको चेन्नईमा जन्मिएका यूएईका १९ वर्षे खेलाडी वित्रिय अरविन्दले सर्वाधिक २२१ रन जोडेका छन्। उनले बहराइनविरुद्ध अविजित ८४ रन, जर्मनीविरुद्ध ४० रन र आयरल्याण्डविरुद्ध १३ चौका र १ छक्काको सहायतामा ६७ बलमा अविजित ९७ रन जोडेका थिए।

त्यस्तै, जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी सूचीको दोस्रो र तेस्रो स्थानमा नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन्। भुर्तेलले ओमानविरुद्ध ५, फिलिपिन्सविरुद्ध १०४ र क्यानडाविरुद्ध अविजित ३४ बनाए। त्यस्तै ऐरीले ओमानविरुद्ध ११, फिलिपिन्सविरुद्ध ८३ र क्यानडाविरुद्ध अविजित २७ रन बनाएका थिए।

बलिङतर्फ प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीमा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने छन्। उनले तीन खेलमा ८ विकेट लिँदा कमलसिंह ऐरीले ६ विकेट लिएका छन्। यूएईका लागि सर्वाधिक विकेट खासिफ दाउदले लिएका छन्। उनले तीन खेलबाट ५ विकेट लिएका हुन्।

कस्तो छ सेमिफाइनल समीकरण?

टी २० विश्वकप छनोट 'ए' अन्तर्गत समूह 'बी'को सोमबार सम्पन्न खेलमा नेपालले क्यानडामाथि ८ विकेटको सहज जित निकालेसँगै सेमिफाइनलको यात्रा तय गरेको थियो। सोमबार नै सम्पन्न समूह 'बी'कै अर्को खेलमा ओमानले फिलिपिन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै समूहको उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको थियो।

समूहको खेलमा नेपाल ओमानमाथि ३९ रन, फिलिपिन्समाथि १३६ रन र क्यानडामाथि ८ विकेटको जित निकाल्दै समूह चरणबाट शतप्रतिशत नजिता निकालेर सेमिफाइनल प्रवेश गर्‍यो। अर्कोतर्फ ओमान पहिलो खेलमा नेपालसँग ३९ रनले पराजित भए पनि दोस्रो खेलमा पुनरागमन गर्दै क्यानडालाई ९ विकेटले हरायो। त्यस्तै फिलिपिन्समाथि पनि ९ विकेटकै सहज जित निकाल्न सफल भयो। र, समूहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्‍यो।

समूह 'ए' मा भने रोचक समीकरणबाट आयरल्याण्ड र यूएई सेमिफाइनलमा पुगे। आयरल्याण्ड, यूएई र बहराइनको समान ४ अंक रहेकामा रनरेटका आधारमा बहराइनलाई पछि पार्दै यी दुई टोली सेमिफाइनलमा पुगेका हुन्। पहिलो खेलमा यूएईसँग १८ रनले पराजित भएको आयरल्याण्डले दोस्रो खेलमा पुनरागमन गर्दै बहराइनलाई २१ रनले हराएको थियो। त्यस्तै सोमबार सम्पन्न खेलमा जर्मनीलाई ७ विकेटले हराउँदा आयरल्याण्डले यूएईलाई रनरेटमा पछि पार्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्‍यो।

अर्कोतर्फ आयरल्याण्डलाई १८ रनले हराएको यूएई दोस्रो खेलमा जर्मनीलाई २४ रनले हरायो। सोमबार भएको खेलमा बहराइनसँग २ रनको अप्रत्यासित हार बेहोर्दा आयरल्याण्डसँग रनरेटमा पछि पर्दै उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

सेमिफाइनलमा समूह 'ए' को विजेताले समूह 'बी' को उपविजेतासँग र समूह 'बी' को विजेताले समूह 'ए' को उपविजेतासँग खेल्नेछ। अर्थात् समूह 'ए' को विजेता आयरल्याण्डले समूह 'बी' को उपविजेता ओमानसँग खेल्नेछ भने समूह 'बी' को विजेता नेपालले समूह 'ए' को उपविजेता यूएईसँग खेल्नेछ।

दुवै खेल आज दिउँसो पौने ४ बजे सुरु हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell