
रसियाले पूर्वी युक्रेनको दुईवटा क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिने घोषणा गरेको छ। नेपाली समय अनुसार सोमबार मध्यरातमा रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले युक्रेनको दोनेत्स र लुहान्स्कलाई स्वतन्त्र राज्यका रुपमा घोषणा गरेका हुन्।
युक्रेन र रसियाबिचको तनावपूर्ण अवस्थालाई लिएर विश्व नै तरंगित भइरहेको अवस्थामा पुटिनले सुरक्षा परिषद् बैठक बोलाएर पूर्वी युक्रेनको स्वघोषित गणतान्त्रिक डोनबासलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिने बारे विचार राखेका थिए। बैठकको अन्त्यसम्म पुटिनले निर्णय दिन भनेका थिए। बैठकको अन्त्यमा पुटिनले दोनेत्स र लुहान्स्कमालाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिनेबारे आज फैसला लिने घोषणा गरेका थिए। लगत्तै टेलिभिजन सम्बोधन गर्दै उनले विवादास्पद दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका हुन्। रसियाको घोषणापछि उक्त क्षेत्रका स्थानीयले खुशीयाली मनाइरहेको तस्विरहरु समेत सार्वजनिक भएका छन्।
सम्बोधनका क्रममा उनले ‘मोर्डन युक्रेन’ को निर्माता रसिया नै भएको बताएका थिए। युक्रेन र पश्चिमा राष्ट्रपति निकै आक्रमक देखिएका पुटिनले कम्युनिष्ट नेता भ्लादमीर लेनिनको आलोचना समेत गरेका थिए। लेनिनका कारण युक्रेन निर्माण भएको भन्दै उनले लेनिनले नै रसियालाई अप्ठ्यारोमा पारेको बताए ।
पुटिनले युक्रेनले रसियन भाषामाथि प्रतिबन्ध लगाएको भन्दै त्यहाँ बेरोजगारी बढेको, शिक्षा स्वास्थ्य लगायतका पूर्वाधारहरु अस्तव्यस्त भएको समेत बताए।
पुटिनले पश्चिमा देशहरुले रसियामाथि धेरै आरोप लगाउने गरेको भन्दै युक्रेनमा विदेशी सेनाको तैनाथी भएको कसैले नदेखेको बताए। पुटिनले पश्चिमा राष्ट्रले रसियाविरुद्ध युक्रेनमा सेना र हतियार तैनाथ गरेको आरोप लगाएका छन्।
‘अमेरिकाले २०१४ देखि युक्रेनमा हतियार पठाउन अर्बौं खर्च गरेको छ। नाटोले किभको एयरस्पेशको प्रयोग गरेर रसियामा आक्रमण गर्न सक्छ। अमेरिकाले रसियाविरुद्ध युक्रेनको प्रयोग गर्यो’ पुटिनले सम्बोधनका क्रममा भनेका थिए।
पुटिनले अहिले पूर्वी युक्रेनमा सेना तैनाथ गर्न निर्देशन दिइसककेको बुझिएको छ।
युक्रेनको प्रतिक्रिया
पुटिनले डोनबास क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गर्दै गर्दा युक्रेनका राष्ट्रपति भ्लोदमेयर जेलनेस्कीले सुरक्षा परिषदको बैठकमा थिए। उनले पुटिनको उक्त कदमको विरोध गर्दै त्यसले युक्रेनको सार्वभौमसत्तामाथि प्रहार भएको प्रतिक्रिया दिएका छन्।
जेलनेस्कीले टेलिभिजन सम्बोधनमार्फत पुटिनको घोषणाले मिन्स सम्झौताको उल्लंघन भएको बताएका छन्।
रसियाले स्वतन्त्र राज्य घोषणा गरेको दुई क्षेत्रमा रसिया समर्थित समूहको वर्चश्व रहेको छ। उक्त क्षेत्रमा रसिया समर्थित समूह र युक्रेनी सेनाबिच भिडन्त हुँदै आएको थियो। सोमवार दोनेत्स र लुहान्स्कमा विद्रोहको नेतृत्व गरेका नेताहरुले रसियालाई उनीहरुको क्षेत्रलाई स्वतन्त्र घोषणा गर्न माग गरेका थिए।
पुटिनले उक्त निर्णय पछि पश्चिमा राष्ट्रहरु छलफलमा जुटेका छन्। संयुक्त राष्ट्र संघमा पनि यस विषयमा चर्चा भइरहेको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोन पनि पुटिनको कदमको विरोध गरेका छन्। माक्रोनले युरोपमा बढेको सुरक्षा संकटको बारेमा कुटनीतिक माध्यमबाट निकास खोज्ने प्रयास गरिरहेको बेला क्रेमलिनको नयाँ कदमले उनी सशंकित भएको बताइन्छ। माक्रोनले पुटिनसहित अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य नेताहरु सम्मिलित सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको बेला पुटिनले युक्रेनी क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेका हुन्।
युक्रेनसँग जोडिएको सीमामा रसियाले सेना तैनाथी गरे पछि अमेरिका, बेलायत लगायतका राष्ट्रले रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्ने सक्ने चेतावनी दिँदै आएको थियो। तर, रसियाले भने उक्त दाबीको खण्डन गरेको थियो। साथै, सीमाबाट समेत रसियाले सेना हटाएको दाबी गरेको थियो।अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रवार मात्रै रसियाली राष्ट्रपति भ्लादमिर पटिनले युक्रेनमाथि आक्रमण गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका थिए। यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन आक्रमण गर्ने रसियाको योजना सुरु भइसकेको बताएका थिए।