
काठमाडौं : नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
विशेष सूचनाका आधारमा सोमवार हिमालय एयरलायन्सबाट दुबईबाट काठमाडौँ आएका बंगलादेशी नागरिक मोहम्मद उल्ल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित पक्राउ गरिएको हो। प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ ‘डिटेक्ट’ गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस् सुन बरामद गरेको हो।
यस्तै उनले नै लगाएको भित्री बस्त्रबाट बेलना आकारको दुई थान अर्धठोस् सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
उनका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा सुन संकलन गर्ने कार्यमा साहको समेत संलग्नता देखिन आएकाले दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।