PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

असिनाले पोखरामा ११ करोडको क्षति



पहिलोपोस्ट

असिनाले पोखरामा ११ करोडको क्षति

पोखरा : पोखरामा गत आईतवार परेको भीषण असिनाले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ।

बाक्लो असिनाका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन्। पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए।

कडारियाले राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताएका छन्। उनले असिनाका कारण सो वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको छ जानकारी दिए। उनकाअनुसार असिनापानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले संचालन गर्दै आउनुभएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन्। फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन्। त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन्। गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ।

उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ। उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्ण रुपमा क्षति भइ २० लाख बराबरको क्षति पुगेको बताए। असिनाको भारका कारण टनेल भाँचिएको उनको भनाइ छ।

पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए। उनले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell