PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

युक्रेन मामिलामा रुसी कदमप्रति के भन्छन् विश्वका अरु देश?



पहिलोपोस्ट

युक्रेन मामिलामा रुसी कदमप्रति के भन्छन् विश्वका अरु देश?

युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्रताको हैसियत दिने रसियाको घोषणालाई लिएर राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा छलफल भएको छ। 

छलफलका क्रममा अमेरिका सहितका पश्चिमा राष्ट्रहरुले घोषणाको विरोध गरेका छन्। उनीहरुले युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डता माथि प्रहार गरेको आरोप लगाएका छन्। 

रसियाको घोषणासँगै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कसैसँगै नडराउने प्रतिक्रिया दिएका छन्। 

'हामी हाम्रो भूमिमा छौँ। र हामी केही पनि र कोहीसँग पनि डराउँदैनौँ,' उनले भनेका छन्, 'हामी कसैको ऋणी होइनौँ। र हामीले कसैलाई केही पनि दिने छैनौँ।'

राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा चीन कुनै पनि पक्षको समर्थन र विरोधमा उभिएको छैन। राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुनले बेइजिङले संकटको कुटनीतिक समाधानका लागि हुने हरेक कदमको स्वागत र समर्थन गर्ने बताएका छन्। 

उनले संकट समाधानका लागि पहल गर्न भन्दै सबै पक्षलाई युक्रेनको समस्या समाधानमा संवादमा जोड दिँदै संकट बढाउने कुनै पनि कार्य नगर्न सुझाव दिएका छन्। 

साथै चीनले युक्रेनको अहिलेको अवस्था धेरै जटिल कारणहरुको परिणाम भएको बताएको छ।  त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी कदमको निन्दा गरेको ह्वाइट हाउसले जनाएको छ। वाइडेनले युक्रेनी समकक्षीसँग टेलिफोन गर्दै अमेरिकाले आवश्यक कदम चाल्ने बताएका छन्। 

ह्वाइट हाउसका प्रवक्ता जेन प्साकीले अमेरिकाले तत्काल प्रतिक्रिया दिने बताएकी छिन्। बाइडेनले यस सम्बन्धी कार्यकारी निर्देशन (एक्जिक्युटिभ अडर)मा हस्ताक्षर गर्दै अमेरिकी नागरिकलाई नयाँ घोषित क्षेत्रबाट व्यपार, लगानी, तथा कुनै बित्तीय कारोवारमा रोक लगाउने बताएकी छिन्। 

त्यस्तै, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिकाले युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सहयोग गर्ने बताएका छन्। 

जर्मन विदेशमन्त्री क्रिटियन लिन्ड्नरले पुटिनको कदम अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै यसले नाटो र ईयुलाई थप नजिक बनाउने बताएका छन्। साथै युक्रेनी जनता प्रति ऐक्यवद्धता प्रकट गरेका छन्। 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले रुसी कदम युक्रेनको भौगोलिक अखण्डता र सार्वभौमिकताको उल्लंघन गरेको उल्लेख छ। 
उनले युक्रेनको राष्ट्र संघले सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको समर्थन गर्ने बताएका छन्। 

त्यस्तै, नाटोका प्रमुख जेनस् स्टोलटेन्वर्गले रुसी निर्णयको निन्दा गर्दै यसले मिन्सक समझदारीको उल्लंघन गरेको आरोप लगाएको छ। 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसी कदमले मिन्सक प्रोसेस र मिन्सक समझदारीको उल्लंघन गरेको बताउँदै युक्रेन र युक्रेनी जनताको पक्षमा सँधै उभिने बताएका छन्। 

युरोपियन कमिसनका अध्यक्ष यर्सुला भोन डेर लियेनले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै युरोपियन युनियन र यसका साझेदारहरुले एक भएर प्रतिक्रिया दिने बताएका छन्। 

पोल्याण्डका प्रधानमन्त्रीले रुसी कदमलाई युक्रेन विरुद्धको आक्रमक कार्यको उदाहरण भएको भन्दै यस विरुद्ध विश्व एक भएर तत्काल प्रतिवन्ध लगाउनेसम्मका काम गर्नुपर्ने बताएकाा छन्। 

टर्कीले आफ्ना देशका नागरिकलाई तत्काल सो क्षेत्र छाड्न निर्देशन दिएको छ। त्यहाँका विदेश मन्त्रीले युक्रेनको पूर्वी क्षेत्रमा रहेका आफ्ना नागरिकलाई किभस्थित दूतावासमा सम्पर्क गर्न र सो क्षेत्र छाड्न भनेका छन्। 

जापानका प्रधानमन्त्री भुमियो किसिडाले रुसी कदमलाई युक्रेनको सार्वभौमकिता र भौगोलिक अखण्डको उल्लंघन भन्दै स्वीकार्य नहुने बताएका छन्। उनले नाकाबन्दी लगाउने सम्मको कदम चाल्नुपर्ने बताएका छन्।  राष्ट्र संघका लागि भारतीय राजदूतले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।  

अष्ट्रेलियाका प्रधनमन्त्री स्कट मोरिसनले पुटिनको कदमलाई मुर्खतापूर्ण कामको संज्ञा दिएका छन्। 

इरानका विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनको विकासक्रमलाई नजिकबाट नियालेको भन्दै शान्तिपूर्ण समाधानको लागि आह्वान गरेका छन्। 
इरानले अमेरिका नेतृत्वको नाटोको हस्तक्षेप र उत्तेजना फैलाउने कार्यले त्यहाँको अवस्थालाई थप जटिल बनाएको आरोप लगाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell