PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

किसानका माग पूरा नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी



पहिलोपोस्ट

किसानका माग पूरा नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी

जनकपुरधाम : जनमत पार्टीका कार्यकर्ताहरुले मंगलवार जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। जनमत पार्टीको आह्वानमा पार्टीका कार्यकर्ताहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध नाराबाजी गर्दै विरोध र्‍याली निकालेका हुन्।

किसानको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित करिब दुई महिनादेखि जनमत पार्टी आन्दोलनरत छ। पार्टीले रासायनिक मल र बिउ बिजनको अभावमा किसानको खेत अझै बाँझो रहेको, नगदे बालीको रुपमा रहेका उखु किसानको बक्यौता रकम बांकी रहेको, उचित मूल्य निर्धारण हुन नसक्दा किसानहरु खेतीपाती गर्नबाट विस्थापित भई पलायन हुने अवस्थामा पुगेको भन्दै जनमत पार्टीले आन्दोलन गरिरहेको छ।

जनमत पार्टीको धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी समेत दिएका छन्। आफूहरूले किसानका मुद्दा सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने उनले चेतावनी दिएका हुन्।

जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell