PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसीको विपक्षमा मतदान गर्नेहरु सरकारमा सँगै बस्न सक्दैनन् : गगन थापा



पहिलोपोस्ट

एमसीसीको विपक्षमा मतदान गर्नेहरु सरकारमा सँगै बस्न सक्दैनन् : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन्। चितवनमा भएको एक कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु ‘अनैतिक र अव्यवहारिक’ हुने बताए।

‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं। तर, सँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ। कि यसका पक्षमा मतदान गरेरसँगै बसौं। फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन,’ थापाले भने।

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याएको भन्दै उनले पहिला ठीक भन्ने नेताहरु अहिले विरोधमा उत्रनु ठीक नभएको बताए। एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए।

‘यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनतामा गएर भन्दैछौं। सिंगो पार्टी एमसीसीका पक्षमा छ,’ उनले भने।

सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेस संसद्बाट एमसीसी पारित गर्ने पक्षमा छ। तर, गठबन्धनमै रहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चा एमसीसीको विपक्षमा छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन नटु्ट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell