PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

अतिक्रमणमा मयुरधाप औद्योगिक क्षेत्रको जग्गा : व्यक्ति र संघसस्थाको कब्जामा ४३ बिघा जमिन



निशा गुरुङ

अतिक्रमणमा मयुरधाप औद्योगिक क्षेत्रको जग्गा : व्यक्ति र संघसस्थाको कब्जामा ४३ बिघा जमिन

हेटौँडा : हेटौँडा उपमहानगरपालिका १३ र १४ मा रहेको निर्माणाधिन मयुरधाप औद्योगिक क्षेत्रको करिब ४३ बिघा जमिन व्यक्ति तथा संघसंस्थाले अतिक्रमण गरेका छन्।

सरकारले नयाँ औद्योगिक क्षेत्र स्थापनाको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई २०७३ सालमा दुई सय बिघा जमिनको जग्गाधनी पूर्जा उपलब्ध गराएको थियो। तर, मयुरधापमा औद्योगिक क्षेत्र निर्माण शुरु भएको पाँच वर्षमा पनि व्यक्ति तथा संघसंस्थाले अतिक्रमण गरेको उक्त जमिन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले फिर्ता लिन सकेको छैन।

अतिक्रमित जमिनका कारण विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण कार्यमा समेत ढिलाइ भएको थियो। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार व्यक्तिले करिब ४० बिघा, अनाथ अपांग बाल पुनर्स्थापना केन्द्रले करिब दुई बिघा र ओम बाबा आश्रमले करिब एक बिघा जमिन अतिक्रमण गरेका छन्।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले अतिक्रमण गरेको जग्गामा पुनर्स्थापना केन्द्र र आश्रमले विभिन्न संरचना बनाएका र व्यक्तिहरूले खेतीपाती गरिरहेका जानकारी दिए।

हेटौँडा उपमहानगरपालिकाले जग्गा खाली गर्न सूचना नै प्रकाशित गरेको र जमिन अतिक्रमण गरेर बसेका संघसंस्था तथा व्यक्तिहरूले जिल्ला अदालत मकवानपुरमा मुद्दा हालेका थिए। उक्त मुद्दा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जितिसकेको छ।

जग्गाको अड्चनका कारण नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि पूर्वाधारका काम शुरु हुन सकेको छैन। पर्सा राष्ट्रिय निकुञ्जले उक्त जमिनको धेरै क्षेत्र आफ्नो भोगाधिकारभित्र पर्ने भन्दै काम रोकेको थियो।

२०७७ माघमा सरकारले औद्योगिक क्षेत्र व्यवस्थापनको नाममा जारी गरेको लालपूर्जा बदर गर्दै बन मन्त्रालयमार्फत भोगाधिकार दिएपछि आरक्षले गर्दै आएको अवरोध हटेको छ। सरकारले २०७२ चैत १ मा मयुरधापमा नयाँ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।

कुखरेनी खोलास्थित पक्की पुलबाट दुई सय मिटर तल र माथिल्लो क्षेत्रमा बनेलधापसम्म औद्योगिक क्षेत्रको जमिन छ। हाल वातावरणीय प्रभाव मूल्यांकन (ईआइए)को काम भइरहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

‘ईआइएको काम सकिएपछि स्थानीयको सहयोग लिएर हामी तारबार गरी आफ्नो जमिन संरक्षणको काममा अघि बढ्छौं, र अतिक्रमण गरेर बनाएका भवनहरु भत्काएर निर्माण शुरु गर्छौँ,’ व्यवस्थापन कार्यालय प्रमुख कँडेलले भने।

हाल ५० प्रतिशत जमिनमा तारबार गरिएको छ। औद्योगिक क्षेत्र परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ। छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको बताइएको छ। औद्योगिक क्षेत्रमा संघीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको हेटौँडा औद्योगिक क्षेत्र प्रबन्धक कँडेलले बताए।

अमेरिकी सरकारको सहयोगमा २०२० सालमा २ सय १२ बिघा जमिनमा हेटौँडा औद्योगिक क्षेत्र स्थापना भएको थियो। नयाँ उद्योगको लागि जग्गा अभाव हुन थालेपछि सरकारले ५३ वर्षपछि यो क्षेत्र नजिककै नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अघि बढएको हो।

हेटौँडा बजारबाट दक्षिणतर्फ रहेको मयुरधाप औद्योगिक क्षेत्र करिब पाँच किलोमिटर टाढा छ। वर्षौंदेखि चुरेको जंगल हुँदै मयुरधापमा खहरे बग्ने गरेको थियो।

चुरेको खहरेले धार परिवर्तन गरेसँगै ठूलो क्षेत्रफल खाली जमिनका रुपमा बसेको थियो। बुट्यानले ढाकेका जमिनमा ठूला रुख छैनन्। उक्त जग्गा समथर छ।

उक्त क्षेत्रमा कुल ५० प्रजातिका चराचुरुङ्गी तथा १३ प्रजातिका घस्रने जीवजन्तु पाइन्छ। उक्त क्षेत्रमा पाइनेमध्ये १४ प्रजातिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जोखिम वर्गमा सूचीकृत गरिएका छन्। जसमध्ये ९ वटा स्तनधारी २ वटा पक्षी तथा ३ वटा घस्रने जनावर पर्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell