काठमाडौं : झापाको दमक-५ का दिनेश सिग्देलका हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए।
सुनसरीको धरान-४ स्थित जंगलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेट्टिएको थियो। कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको थियो।
प्रहरीको अनुसन्धानमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी धरान–४ धरान भेडेटार सडकखण्डको जंगलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको छ। योजनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिए।
गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो। त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले हत्यामा संलग्न अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो।
सिग्देलकी जेठी श्रीमतीको बयानका आधारमा प्रहरी अनिता र सरोजलाई पक्राउ गर्न सफल भएको हो। दुवै जनाले सिग्देलको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।