PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अहिलेसम्म फिल्ममा अभिनेत्री नदोहोर्‍याएका अनमोल 'ए मेरो हजुर ४' मा किन फेरि सुहानासँग देखिए ?



पहिलोपोस्ट

अहिलेसम्म फिल्ममा अभिनेत्री नदोहोर्‍याएका अनमोल 'ए मेरो हजुर ४' मा किन फेरि सुहानासँग देखिए ?

काठमाडौं : फिल्म ‘होस्टेल’ बाट अभिनय यात्रा सुरु गरेका अभिनेता अनमोल केसीको 'क्रेज' युवापुस्तामाझ धेरै नै छ। जब जब अनमोलको फिल्मको घोषणा हुन्छ तब उनको फिल्मको अभिनेत्रीको पनि चर्चा हुने गर्छ। अनमोलले अहिलेसम्म जति फिल्म खेलेका छन् उनले कसैमा नायिका दोहोर्‍याएका छैनन्।

अहिलेसम्मको अनमोलको फिल्म करियर हेर्ने हो भने उनका हरेक फिल्ममा नयाँ अभिनेत्रीको अनुहार हुन्छ। अनमोलकै फिल्मबाट प्रायः नयाँ अनुहारले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन्।

यस्तोमा अनमोलमाथि बेला बेला प्रश्न उठछ: आखिर अनमोल किन हरेक फिल्ममा  नयाँ अभिनेत्रीहरुसँग देखिन्छन्?

फिल्म ‘होस्टेल’ मा अनमोल पहिलो पटक प्रकृति श्रेष्ठसँग देखिएका थिए। त्यसपछि दोस्रो फिल्म ‘जेरी’ मा अनमोलले आना शर्मासँग जोडी बाँधे।उनीहरुको जोडी पनि निकै रुचाइएको थियो। तेस्रो फिल्म ‘ड्रिम्स’ मा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग देखिए अनमोल। यस्तै अनमोल फिल्म ‘गाजलु’ मा सृष्टि श्रेष्ठ, फिल्म ‘कृ’ मा अदिती बुढाथोकी, फिल्म ‘क्याप्टेन’ मा उपासना सिंह ठकुरीसँग देखिए।

सातौं  फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोलले सुहाना थापासँग स्क्रिन सेयर गरे। यीमध्ये केही अभिनेत्रीहरु हराए त केही आफ्नो करियर बनाउन सघंर्षरत नै छन्।

यसपटक भने अनमोलले प्रश्न सोध्नेहरुलाई जवाफ फर्काएका छन्। 'ए मेरो हजुर ४' मा उनी पहिलोपटक यसअघि काम गरेका अभिनेत्रीसँग स्क्रिन सेयर गर्दैछन्। आगामी बैशाख १ गते रिलिज हुने यस फिल्ममा अनमोल फेरि सुहाना थापाकै जोडीको रुपमा देखिदैँछन्।

यसपछिका फिल्महरुमा पनि अनमोल नयाँ अभिनेत्रीसँग देखिदैँछन्। फिल्म ‘हनी बनी’ मा सारा सिर्पाली, फिल्म ‘एन्टी हिरो’ मा जस्मिता गुरुङ, फिल्म ‘पारस’ मा आग्या करनजीत र फिल्म ‘एक्स ९’ प्रियंका थापासँग देखिने पक्का भएको छ।

अनमोल भने यस विषयलाई संयोगको रुपमा लिन्छन्। आफूले कुनै पनि फिल्ममा अभिनेत्री नयाँ नै हुनुपर्छ भनेर कहिल्यै नभनेको उनको दाबी छ। कुनै फिल्ममा अभिनेत्रीसँगको जोडीलाई दर्शकले मन पराएको खण्डमा दोहोर्‍याएर काम गर्न समस्या नहुने उनको भनाई छ। अनमोलको यस कुराबाट अभिनेत्री सुहाना थापासँगको जोडी दर्शकले मन पराएको भाव बुझ्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell