PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड-नेपाललाई दङ्ग्याउँदै देउवा, एमसीसीलाई लिएर च्याँखे थाप्दै ओली



प्रकाश भण्डारी

प्रचण्ड-नेपाललाई दङ्ग्याउँदै देउवा, एमसीसीलाई लिएर च्याँखे थाप्दै ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ महिनापछि मंगलवार बालुटार पुगे। प्रधानमन्त्रीबाट बाहिरिएपछि असार ३० गते उनी निजी निवास बालकोट फर्केका थिए। त्यसयता बालुवाटार जान ओलीले मानेनन्। पटकपटकका सर्वदलीय बैठकलाई बहिष्कार गरेर ओलीले सत्ता गठबन्धनसँग संवाद गर्न तयार नभएको सन्देश दिइरहे। यद्यपि, उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुस २४ र फागुन ५ मा बालकोट नै डाकेर संवादका लागि स्वागत गरिसकेका थिए। 

देउवासँग सहकार्य गर्न चाहेको भए पनि सत्ता गठबन्धन बाधक भएको ओलीले  बताउँदै आएका थिए।  

एमाले नेताहरुका अनुसार देउवा-ओली भेटमा प्रमुखताका साथ उठ्ने विषय हुन् - मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), सभामुख अग्‍नि सापकोटाको बहिर्गमन र सत्ता गठबन्धन। मंगलवारको भेट पनि यिनै विषयभन्दा बाहिर गएन। 

सभामुख अग्‍नि सापकोटालाई हटाएमात्रै एमसीसीमा सहयोग गर्न सकिने ओलीले जनाएको भेटमा सहभागी नेताहरुले बताएका छन्।

'कुनै सहमति भएको छैन। पुरानै विषयलाई हामीले राख्यौं। प्रधानमन्त्रीले एमसीसी पास गराउन सहयोग गर्नुस् भन्नुभयो। हामीले संसदको अवरोध हटाउने वातावरण बनाउनुस् भन्यौं,' एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने। 

एमालेले सभामुख सापकोटालाई हटाउनुपर्ने भन्दै संसदका पछिल्ला दुई अधिवेशनमा लगातार अवरोध गरिरहेको छ। माधवकुमार नेपाल सहितका सांसदमाथि कारवाहीको सुचना टाँस नभए सभामुखको राजीनामालाई बटमलाइन बनाएर एमालेले  संसद अवरोध गरिरहेको छ। एमसीसी संसदमा टेबल भइसक्दा समेत एमालेले आफ्नो ऐजेण्डा पूरा नभएको भन्दै संसदमा एमसीसीलाई के गर्ने भन्नेबारे धारणा अघि सार्न मानिरहेको छैन।

ओलीलाई फकाउँदै, प्रचण्ड-नेपाललाई घुर्क्याउँदै देउवा

बुधवार विहान देउवाले दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाणलाई बालकोट पठाएका थिए। उक्त भेटमा पनि ओलीले मंगलवार रातिको भेटकै अडानलाई दोहोर्‍याएका छन्। बुधवार प्रधानमन्त्रीसँग बालुवाटारमा भएको भेटमा सभामुख सापकोटलाई हटाए मात्रै एमसीसी पास गर्न एमालेले सहयोग गर्ने ओलीले बताएका थिए।

‘एमसीसी र संसदको अवरोध हटाउने विषयमा कुराकानी भएको हो। कुनै सहमति भएको छैन्,’ गृहमन्त्री खाणसँगको भेटबारे ओली सचिवालयका एक सदस्यले भने।

पछिल्लो समय सत्ता गठबन्धनमा एमसीसीको विषयलाई लिएर एक मत हुन सकिरहेको छैन। फागुन ८ गते प्रतिनिधिसभामा एमसीसी टेबल हुनुअघि बालुवाटारमा बसेको सत्ता घटक दलहरुको बैठकमा प्रचण्डले संसदीय समितिमा एमसीसी छलफल गर्नुपर्ने प्रस्ताव गरेको भए पनि देउवाले अस्वीकार गरेका छन्।

तर, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदमा एमसीसी टेबल गर्न त्यो दिन सहमत भएका थिए। फागुन ९ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। प्रचण्ड-नेपालले एमसीसी पास गराउन असहयोग गर्ने भएपछि देउवाले ओलीसँगको संवादलाई तीब्र पारेका हुन्।

मंगलवारको भेटमा देउवाले ओलीसँग संसदबाट एमसीसी पास गराउन गठबन्धनका नेताहरुले असहयोग गरेको बताएका थिए।

‘एमसीसी पास गर्न सहयोग गर्नुस् भन्नुभयो। गठबन्धनका नेताहरुले पास गराउन चाहेनन् भनेर भन्नुभयो। तर, हाम्रो अडान पुरानै छ,’ एमालेका उपाध्यक्ष पौडेलले भने।

यसकारण चाहन्छन् ओली-देउवा एक अर्कालाई

ओलीले प्रधानमन्त्रीबाट हटेयता लगातार सत्ता गठबन्धनलाई फुटाउन गृहकार्य गरिरहेका छन्। त्यसका लागि ओलीको पछिल्लो हतियार बनेको छ - एमसीसी। एमसीसी पास गराउन देउवालाई सकस पर्ने र त्यतिबेला गठबन्धन फुट्ने भएकाले ओलीले पनि देउवासँगको संवादलाई प्राथमिकता दिइरहेका छन्। तर, देउवा भने ओलीसँग सहकार्य गरेर अहिलेको सत्ता गठबन्धनलाई टुटाउन तयार भइनसकेको सत्ता घटक दलका नेताहरु बताउँछन्।

यद्यपि, गठबन्धन टुक्रने/ नटुक्रनेबारे केही भन्न नसकिने नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए।

‘एउटा विशेष परिस्थितिमा गठबन्धन बनेको हो। एमसीसी संशोधनविना संसदमा अघि बढ्न सक्दैन् भनेर हाम्रो पार्टीले निर्णय गरेको छ। सरकारबाट बाहिरिने कि नबाहिरिने भन्नेबारे कुनै परिपक्क निर्णय भइसकेको छैन। केही हेरफेर भयो भने एमसीसीबारे अहिलेको पार्टीको निर्णयमा केही परिवर्तन हुनसक्छ। तर, अवस्था परिपक्व बनिसकेको छैन,’ उनले भने।

एकातिर देउवा ओलीलाई देखाएर गठबन्धनका नेताहरुलाई साइजमा राख्‍न चाहन्छन् भने अर्कोतिर ओली पनि सत्ता गठबन्धनलाई चुनावअघि जसरी पनि टुटाउन चाहिरहेका छन्। देउवा ओलीबिच सहकार्य हुने सम्भावना पनि उतिकै भएको एमाले नेताहरुको भनाइ छ। यद्यपि, त्यसका लागि एमालेले ६ महिना अघिदेखि लगातार गरिरेहेको संसद अवरोधलाई प्रतिष्ठाको विषय बनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell