PahiloPost

Nov 9, 2024 | २४ कात्तिक २०८१

ललितपुर मेयर्स कप: सुदूरपश्चिम प्रदेशमाथि एपीएफको जित



पहिलोपोस्ट

ललितपुर मेयर्स कप: सुदूरपश्चिम प्रदेशमाथि एपीएफको जित

काठमाडौं: ललिपुर मेयर वुमन्स च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश एपीएफसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जसका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा बिन्दु रावल र डोली भट्टले समान ११ रन बनाएका थिए। त्यसबाहेक सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ एपीएफकी सोनु खड्काले सर्वाधिक ३ विकेट लिँदा करुणा भण्डारीले २ र राजमती ऐरीले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १६.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि रोमा थापाले सर्वाधिक अविजित २३ रन बनाउँदा ममता चौधरीले १४ रन बनाइन्। त्यस्तै ज्योति पाण्डेले ११ र इन्दु वर्माले १० रन बनाउँदा सरिता मगर ९ रन र कप्तान सीता राना मगर ४ रनमा पभेलियन फर्किए।

बलिङतर्फ सुदूरपश्चिमकी इश्वरी बिस्टले २ विकेट लिँदा रितु कनौजियाले १ विकेट लिइन्।

योसँगै एपीएफले लगातार दुई जित निकाल्दै ४ अंक जोडेको छ। पहिलो खेलमा एपीएफले प्रदेश १ लाई ६ विकेटले नै हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। सुदूरपश्चिमले भने ललितपुर मेयर्स ११ लाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।

आजै हुने दोस्रो खेलमा ललितपुर मेयर्स र लुम्‍बिनी प्रदेश भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell