
अमेरिकी सुरक्षा एजेन्सी निकट ह्याकरहरुको समूहले चीनसहित विभिन्न ४५ देशका सूचनालाई संकलन गर्दै निगरानी गरिरहेको एक अनुसन्धानले जनाएको छ।
बेइजिङस्थित साइवर सेक्युरिटी ल्याव छि आन फाङ्गुले बुधवार यस सम्बन्धि रिपोर्ट सार्वजनिक गरेको ग्लोवल टाइम्सले जनाएको छ।
अमेरिकाको नेशनल सेक्युरेटी एजेन्सी (एनएसए) निकटको इक्वेसन ग्रुपले 'टेलिस्क्रिन (बीभीपी४७)' मार्फत् अमेरिका लागि सूचनाहरु संकलन गरिरहेको दाबी गरेको छ। यसबाट विश्वभरका ४५ देशहरु प्रभावित भएको दाबी रिपोर्टमा गरिएको छ।
एनएसएले इक्वेसन ग्रुप मार्फत् टेलिस्क्रिन अप्रेसन एक दशक अगाडि देखि चलाइहेको र यसबाट चीन, रुस, जापान, जर्मनी, स्पेन, इटालीसहितका देशका २८७ संस्थाहरुलाई लक्षित गरिएको उल्लेख छ।
अमेरिकी सुरक्षा एजेन्सीले इक्वेसन ग्रुप मार्फत् एपीटी आक्रमण (राज्यको सहयोगमा गरिने साइवर हमलाहरु) गरिरहेको दाबी रिपोर्टमा गरिएको छ।
हाल विश्वभर एपीटी आक्रमणका घटनाहरु बढिरहेका देखिन्छन्। यसको सबैभन्दा बढी पीडित राष्ट्र चीन बनिरहेको ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ।
चीनका साइवर सुरक्षा विज्ञहरुले एपीटी आक्रमण विरुद्ध सरकारहरु र औद्योगीक प्रणालीले एक भएर काम गर्नुपर्ने सुझाब दिएका छन्।
इक्वेसन ग्रुप सन् २००१ देखि सक्रिय रहेको ह्याकरहरुको समूह हो। कास्परस्की ल्याबको ग्लोबल रिसर्च एण्ड एनालाइसिस टीमले यो समूहलाई सबैभन्दा परिस्कृत ह्याकरहरुको समूह भनेर व्याख्या गरेको छ। उसले यो समूहलाई उनीहरुले देखेको सबैभन्दा सबैभन्दा उन्नत किसिमको रहेको भनेको छ।
यो समूहले विशेषगरी चीनसहित इरान, रुस, अफगानिस्तान, सिरियासहितका देशहरुमाथि आक्रमण गर्दै आएको छ।
सन् २०१५ कास्परस्कीले कम्तिमा ४२ देशलाई प्रभावित गर्ने गरी यो समूले बनाएका ५०० मालवेरलाई अभिलेख गरेको थियो। यो समूहले प्रयोग गर्ने प्रविधिका कारण यसको सम्बन्ध एनएसएसँग हुन सक्ने बताइए पनि यसको पछाडि कसको हात रहेको भन्ने कास्परस्कीले खोल्न सकेको थिएन्।
सन् २०१७ मा विकिलिक्सले यसको सम्बन्ध सीआईएसँग रहेको तथ्य सार्वजनिक गरेको थियो।