
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिने भएको छ। पार्टीको संसदीय दलको बैठकले एमसीसीको पक्षमा उत्रिने निर्णय गरेको हो।
लोकतान्त्रिक समाजवादी पार्टीमा १३ सांसद छन्। नेपाली कांग्रेसपछि एमसीसीको पक्षमा लोसपा खुलेको हो।
भोलि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समावेश छ। संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार भोलि अर्थ मन्त्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्' भन्दै प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ।
यता नेपाली कांग्रेसले सांसदहरुलाई भोलिको बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ। संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। गत आइतवार संसद् बैठकमा एमसीसी सम्बन्धि प्रस्ताव टेवल भएको थियो। सत्तारुढ दलबिच नै चर्को बहसका बिच प्रस्ताव टेवल भयो भने बाहिर त्यसको विरोधमा चर्को प्रदर्शन भएको थियो।
पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसीको विषयलाई लिएर लगातार सबैजसो राजनीतिक दलसँग संवादमा छन्। हिजोमात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग देउवाको लामो छलफल भएको थियो। नेकपा एमाले एमसीसीको पक्ष या विपक्षमा खुलिसकेको छैन तर ओलीले भने बारम्बार एमसीसीको पक्षमा वकालत गर्दै आएका छन्। पछिल्ला दुई अधिवेशनमा लगातार रोस्टम घेर्दै आएको एमालेले सभामुखको राजीनामालाई 'इस्यु' बनाउँदै आएको छ।
यता जनता समाजवादी पार्टी पनि एमसीसीको विषयलाई लिएर विभाजित अवस्थामा छ। उपेन्द्र यादव समूह एमसीसीको विपक्षमा देखिए पनि बाबुराम भट्टराई समूह यसको पक्षमा उभिएका छन्।