PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

जयनन्द भन्थे: म नाथेको जीवनी कसले पो पढ्छ र?



लक्ष्मी बलायर

जयनन्द भन्थे: म नाथेको जीवनी कसले पो पढ्छ र?

कलाकार जयनन्द लामाको मृत्यु चलचित्र निर्देशक तथा लेखक दीपेन्द्र लामालाई पत्याउन गाह्रो भइरहेको छ। नहोस् पनि कसरी, उनीहरू हिजो रातिसम्म सँगै थिए। घट्टेकुलोमा रहेका दीपेन्द्रलाई लिन आफैँ पुगेका थिए जयनन्द। त्यहाँबाट उनीहरू बौद्ध गएका थिए। दुई जनाबीच दीपेन्द्रकै निर्देशन रहेको फिल्म 'दुई नम्बरी' को बारेमा कुराकानी भएको थियो।

दुई वर्षअघि नै फिल्म 'दुई नम्बरी' को छायाङ्कन सुरु भएको थियो। फिल्म छायाङ्कन भइरहेको १० दिनमा कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन घोषणा गर्‍यो, उनीहरूको काम पनि रोकियो।

फिल्ममा जयनन्द अभिनेता दयाहाङ राईका बुवाको भूमिकामा थिए। पछि कोरोना भाइरसको संक्रमण कम भए पनि फिल्म छायाङ्कन सुरु भइसकेको थिएन। त्यही रोकिएकै फिल्मको छायाङ्कन सुरु गर्ने योजनामा थिए दीपेन्द्र। त्यसैको तयारी चलिरहेको थियो - दुई फिल्मकर्मीको भेट्ने उद्देश्य यसैले जोडेको थियो।

दुई साताअघि मात्रै सार्वजनिक भएको सर्ट फिल्म 'वरदान' मा पनि एकसाथ काम गरेका थिए दीपेन्द्र र जयनन्दले।

'चैत्रमा उहाँ तीन/चार फिल्मको सुटिङमा काम गर्ने सेड्युल थियो। हामीबिच चैत्रबाट सुरु गरिने फिल्म 'दुई नम्बरी' को लागि समय मिलाउन सल्लाह भएको थियो। उहाँ पनि 'दुई नम्बरी' अभिनय गर्ने तयारीमा हुनुहुन्थ्यो। तर उहाँको यस फिल्मको काम अधुरै रह्यो,' दीपेन्द्रले सुनाए।

मंगलबार साँझ बौद्धबाट उनीहरू सँगै एउटा पार्टीमा पुगेका थिए। राति १० बजेतिर दीपेन्द्र उनीसँग छुट्टिएर घरतिर लागे। राति 'डिस्टर्ब' होला भनेर फोन गरेनन्। तर बिहान जे देखे त्यो अपत्यारिलो थियो। फेसबुक स्क्रोल गर्दा थाहा पाए -जयनन्द बितिसकेछन्।

'हिजै भेटेको मान्छेको मृत्युको खबर सुन्दा पत्याउन गाह्रो हुँदो रहेछ। उहाँले हिजो नै 'आई एम सिक्स्टी सिक्स' भन्नुभएको अझै कानमा गुन्जिरहेको छ,' लामाले भने, 'उहाँको मृत्यु अकल्पनीय लागिरहेको छ।'

दीपेन्द्र जयनन्दसँगको पहिलो भेट समेत सम्झन्छन्। २०५७ सालमा नयाँ सडक दैनिक रिपोर्टिङ गर्थे दीपेन्द्र। त्यतिखेर जयनन्दले पनि फिल्म 'माया गर्छु म' निर्देशन गरेका थिए। त्यही फिल्मको रिपोर्टिङका क्रममा जयानन्दलाई भेटेका थिए उनले। त्यसपछि उनीहरूबीच टेलिफोन संवाद र भेटघाट जारी रह्यो।

दीपेन्द्र पुल्चोकमा बस्थे। जयनन्द पनि पुल्चोकमै पढाउन जान्थे। त्यतिबेला पनि दीपेन्द्रको जयनन्द र चेतन कार्कीसँग भेटघाट बाक्लै हुन्थ्यो। उनीहरू पहिले पहिलेको रमाइलो किस्साहरू सुनाउँथे। र, दीपेन्द्र पनि पुरानो कुरा सुन्न खुब चासो राख्थे। कुराकानीकै क्रममा दीपेन्द्रले जयनन्दलाई भनेछन्, 'दाइ तपाईँको त जीवनी नै निकाल्नुपर्छ होला।' जवाफमा जयनन्द भनेछन्, 'म नाथेको जीवनी कसले पो पढ्छ र? किन निकाल्नुपर्‍यो र?'

जयनन्द बहुमुखी प्रतिभा भएका कलाकार हुन्।

'उहाँ धेरै क्षमता भएको व्यक्ति हो। उहाँ लोकगीत गायनका साथै अभिनय र निर्देशनमा समेत सक्रिय हुनुहुन्थ्यो,' दीपेन्द्रले भने, 'तामाङ भाषाको पहिलो फिल्म 'सेमरी छोरङान' पनि उहाँले नै निर्देशन गर्नुभएको हो। फिल्मबाट घाटा लागेपछि उहाँ निर्देशनबाट टाढिनुभयो। पछि उहाँले म्युजिक इन्स्टिच्युट चलाउनुभयो। नेपालमा पहिलो क्यासेट एल्बम निकाल्ने श्रेय पनि उहाँलाई नै जान्छ।'

२०३० सालमा 'मनको बाँध' फिल्मबाट अभिनय यात्रा सुरु गरेका जयनन्दले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनको अभिनयमा हाँस्य चरित्र झल्कने गरेको छ। उनी पछिल्लो समय हाँस्य टेलिसिरियल 'हल्का रमाइलो' मा व्यस्त थिए। साथै, उनको अभिनय रहेको 'कबड्डी ४' रिलिजको तयारीमा छ।

करिब पाँच दशकको गायन यात्रामा उनले दुई सयभन्दा धेरै गीत गाएका छन्।

उनका 'कलकत्ते काइँयो केश मेरो बांगो...', चट्ट परेको चुल्ठी..., हेर्दैमा राम्रो..., चुइँचुइँ चुइँकने जुत्ता..., नाच्यो झिल्के नाच्यो..., मूलाको चाना... जस्ता लोकलयका गीत चर्चित छन्।

उनले ललितकला क्याम्पसबाट संगीतमा स्नातक र इलाहावादबाट स्नातकोत्तर गरेका थिए। त्रिभुवन विश्वविद्यालयमा ४ वर्ष अध्यापन समेत गरेका थिए उनले।

यस्तै, लोक गायक तथा रचनाकार रमेश बिजी जयनन्द लामाको निधनबाट लोकसंगीत जगतमा ठूलो क्षति पुगेको बताउँछन्।

लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका बिजी जयनन्द सधैँ हाँसिरहने, माहोललाई नै रमाइलो बनाउने खोज्ने र जोस जाँगर भएको व्यक्तिका रुपमा सम्झन्छन्। हरेक विधामा सशक्त जयनन्दको अभाव लोकसंगीत क्षेत्रमा सधैँ खड्किरहने उनी बताउछन्।

'उहाँ अभिनयदेखि लोक गायन, वाद्यवादन र नृत्यमा निकै दख्खल राख्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँको मृत्युले नेपाली लोकगीत/संगीतलाई निकै अतुलनीय क्षति पुगेको छ' बिजीले भने।

नेपाली लोक गीत संगीतमा जयनन्दको निकै योगदान रहेको समेत उनले बताए।

जयनन्द क्षेत्र विशेष गीतहरू जस्तै, तामाङ सेलो, झ्याउरे र ठट्यौली मौलिक गीतहरू गाउँथे। उनका मौलिक गीतहरूले नेपाली गीत संगीतलाई निकै धनी बनाएको बिजीको तर्क छ। उनका अनुसार लोकगीतमा झ्याउरे विधा निकै सशक्त विधामा पर्छ। यो जो कोहीले गाउन सक्दैनन् किनकि यसमा नृत्य, वाद्यवादन र गायन पनि निकै सशक्त हुनुपर्छ। जुन गुणहरू जयनन्दमा थियो। उनले गाएको कलकत्ते काइँयो पनि झ्याउरे विधाको गीत हो।

बिजी भन्छन् 'उहाँको लोकगीतमा छुट्टै दख्खल छ। जुन अनुसन्धान बिना सम्भव हुँदैन। गाउँ-गाउँ डुलेर त्यहाँको परिवेश बुझेर ती बस्तीका गीतलाई टपक्क टिपेर ल्याउने उहाँ अनुसन्धानकर्ता पनि हो। उहाँ आफैँ खोजेर लोकलयलाई ल्याएर जस्ताका त्यस्तै गाउने व्यक्ति हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell