काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट अन्तिम चरणका खेल सुरु हुँदैछन्। आज हुने पहिलो खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भिड्नेछन् भने हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा भिड्नेछन्। दुबै खेल दिउँसो १ बजे सुरु हुनेछ। आजको खेल च्यासलका लागि ए डिभिजन लिगको अन्तिम खेल बन्ने छ। रेलिगेशनमा परेकाले अर्को सिजन बी डिभिजन खेल्नेछ च्यासलले। आज खेल्ने बाँकी तीन टीमका लागि भने प्रतिष्ठाको खेल हुनेछ। आजको जित हारले टिमलाई खासै प्रभाव पार्दैन। यद्यपि तालिकामा वरीयता सुधार्ने अन्तिम अवसर भने बन्न सक्छ।
अन्तिम चरण नपुग्दै च्याम्पियन टोली र रेलिगेशनमा परेको टोलीहरुको टुंगो लागि सकेकाले अन्तिम चरण पुरै वरीयता कायम राख्ने र प्रतिष्ठाको खेल रहने छ। १४ गते अन्तिम चरण पनि सकिनेछ।
अन्तिम चरण पुग्दा केके भए लिगमा?
च्याम्पियन टोली मछिन्द्र र आर्मी अपराजित
लिगमा दुई खेल बाँकी छँदै च्याम्पियन बनेको मछिन्द्र क्लब र त्रिभुवन आर्मी फुटबल क्लब अपराजित छन्। १२ खेलमा १० जित र २ बराबरी खेलेको मछिन्द्र ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने ५ जित र ७ बराबरी खेलेको आर्मी २२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। मछिन्द्रले लिगमा मात्र एक गोल खाएको छ। त्यसैले क्लिनसिट राख्नेमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ सबैभन्दा अगाडि छन्। मछिन्द्रले लिगमा गोल एनआरटीविरुद्धको खेलमा खाएको थियो। जारी लिगमा मछिन्द्रविरुद्ध गोलगर्ने एकमात्र खेलाडी एरिक बिस्ट हुन्। अन्तिम खेलमा मछिन्द्रले एपीएफसँग खेल्नेछ भने आर्मीको प्रतिस्पर्धा मनाङ मर्स्याङदी क्लबसँग रहनेछ।
राष्ट्रिय टोलीका दुई पूर्वकप्तानको कप्तानीमा दुई टोली रेलिगेशनमा
यसपालाको लिगमा कमजोर प्रदर्शन गरेका ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब रेलिगेशनमा परेका छन्। ब्रिगेड ब्वाइज राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा उत्रिएको थियो भने च्यासल राष्ट्रिय टोलीका अर्कापूर्व कप्तान विराज महर्जनको कप्तानीमा उत्रिएको थियो। अझ विराज त अघिल्लो सिजन मछिन्द्र क्लबले लिग जित्दा टोलीको कप्तान थिए। त्यसअघि मनाङले लिग जित्दा उनी मनाङकै कप्तान थिए। त्यस्तै अघिल्लो सिजन मनाङको कप्तानी गरेका कमल श्रेष्ठ, इटलीका ठूला क्लबको उमेर समूहबाट खेलिसकेका विदेशी खेलाडी विकास मेराग्लियालगायतका उत्कृष्ट खेलाडी लिएर पेपरमा बलियो देखिएको च्यासलको प्रदर्शन त्यसअनुरुप हुन सकेन। च्यासलले १२ खेलमा १ जित, ३ बराबरी र ८ हार ब्यहोर्दै जम्मा छ अंक जोड्यो। त्यस्तै ब्रिगेडले १ जित ४ बराबरी र ७ पराजय ब्यहोर्दै ७ अंक जोडेर रेलिगेशनमा पर्यो।
अघिल्लो वर्ष सातदोबाटोलाई ए डिभिजन पुर्याएर ब्रिगेड ब्वाइजको प्रशिक्षण सम्हाल्न पुगेका सनोज श्रेष्ठले रेलिगेशनमा पर्ने निश्चित भएपछि भनेका थिए: 'ओभरअलमा म्यानेजमेन्टदेखि कोचिङसम्म राम्रै थियो। योङलाई प्रोमोट गर्ने अवस्था भयो आर्थिक अवस्थाले गरेको हो। बी डिभिजनबाट ल्याएका खेलाडीले खेले। सुरुमा राम्रो खेल्यौं। बीचमा ब्रेक डाउन भयो। त्यसले गर्दा हामी रेलिगेशनमा पर्यौं।'
दोस्रो स्थानमा तीन टीमको आँखा
अन्तिम चरणमा लिगको दोस्रो स्थानमा उक्लने प्रयास तीन टोलीको हुनेछ। जसमा सबैभन्दा अघि २२ अंक जोडेको आर्मी छ। आर्मीले जित निकाले स्वत उपविजेता बन्ने छ। त्यसभएको खण्डमा विजेता र उपविजेता अघिल्लो सिजनकै दोहोरिनेछन्। अघिल्लो सिजन पनि मछिन्द्र विजेता र आर्मी उपविजेता बनेका थिए। त्यस्तै आर्मीले अन्तिम चरणमा जित निकाल्न नसकेको खण्डमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङदी क्लबले दोस्रो स्थानमा उक्लने अवसर पाउनेछन्। अन्तिम चरणमा मनाङ र आर्मीको खेल हुँदा दोस्रो स्थानको समीकरण थप रोमाञ्चक बन्ने छ। त्यस्तै एनआरटीले नेपाल पुलिस क्लबको सामना गर्नेछ।
लिगमा च्याम्पियन मछिन्द्रको प्रदर्शन
मछिन्द्र भर्सेस न्युरोड टिम २-१ (जित)
मछिन्द्र भर्सेस आर्मी ०-० (बराबरी)
मछिन्द्र भर्सेस जावलाखेल २-० (जित)
मछिन्द्र भर्सेस हिमालयन शेर्पा ३-० (जित)
मछिन्द्र भर्सेस संकटा ०-० (बराबरी)
मछिन्द्र भर्सेस मनाङ १-० (जित)
मछिन्द्र भर्सेस नेपाल पुलिस १-० (जित)
मछिन्द्र भर्सेस फ्रेन्ड्स १-० (जित)
मछिन्द्र भर्सेस ब्रिगेड ब्वाइज ४-० (जित)
मछिन्द्र भर्सेस च्यासल २-० (जित)
मछिन्द्र भर्सेस सातदोबाटो १-० (जित)
मछिन्द्र भर्सेस थ्री स्टार १-० (जित)
१२ खेल २ बराबरी १० जित
रेलिगेशनमा परेको च्यासलको प्रदर्शन
च्यासल भर्सेस थ्री स्टार ३-० (हार)
च्यासल भर्सेस एपीएफ १-० (जित)
च्यासल भर्सेस न्युरोड १-१ (बराबरी)
च्यासल भर्सेस नेपाल आर्मी २-० (हार)
च्यासल भर्सेस जावलाखेल १-० (हार)
च्यासल भर्सेस हिमालयन शेर्पा ३-१ (हार)
च्यासल भर्सेस संकटा ०-० (बराबरी)
च्यासल भर्सेस मनाङ मर्स्याङदी ५-० (हार)
च्यासल भर्सेस नेपाल पुलिस २-१ (हार)
च्यासल भर्सेस मछिन्द्र २-० (हार)
च्यासल भर्सेस ब्रिगेड ब्वाइज ०-० (बराबरी)
च्यासल भर्सेस फ्रेन्ड्स २-१ (हार)
१२ खेल १ जित ८ हार ३ बराबरी
रेलिगेशनमा परेको ब्रिगेड ब्वाइजको प्रदर्शन
ब्रिगेड ब्वाइज भर्सेस एपीएफ ३-२ (जित)
ब्रिगेड ब्वाइज भर्सेस एनआरटी ०-० (बराबरी)
ब्रिगेड ब्वाइज भर्सेस नेपाल आर्मी १-० (हार)
ब्रिगेड ब्वाइज भर्सेस जावलाखेल ०-० (बराबरी)
ब्रिगेड ब्वाइज भर्सेस हिमालयन शेर्पा ३-१ (हार)
ब्रिगेड ब्वाइज भर्सेस संकटा ३-० (हार)
ब्रिगेड ब्वाइज भर्सेस मनाङ १-० (हार)
ब्रिगेड ब्वाइज भर्सेस नेपाल पुलिस १-१ (बराबरी)
ब्रिगेड ब्वाइज भर्सेस मछिन्द्र ४-० (हार)
ब्रिगेड ब्वाइज भर्सेस फ्रेन्ड्स ५-२ (हार)
ब्रिगेड ब्वाइज भर्सेस च्यासल ०-० (बराबरी)
ब्रिगेड ब्वाइज भर्सेस सातदोबाटो ३-२ (हार)
१ जित, ४ बराबरी ७ हार