
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको बैठक अघि छलफल गरेका छन्। आज बस्ने प्रतिनिधि सभा बैठकमा कस्तो रणनीति बनाउने भन्नेबारेमा सिंहदरबारमा नेपालले प्रचण्डसँग छलफल गरेका हुन्।
दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल पनि रहेको छ। त्यसअघि सत्ता घटक दलका नेताहरुले छलफल गरेको एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए।
'संसद बैठकका बारेमा अध्यक्ष लगायतका नेताहरु बस्नु भएको हो। आज त सामान्य छलफल छ। त्यस्तो ठ्याक्कै के गर्ने भन्ने कुरा भएन,'उनले भने।
नेपाली कांग्रेसले एमसीसीको विपक्षमा मतदान गरे सत्ता गठबन्धन टुट्ने बताइरहेको छ। सत्ता गठबन्धन जोगाउनुपर्ने दबाबमा प्रचण्ड-नेपाल लगायतका नेताहरु छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाली कांग्रेस लगायतले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।
यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए। यद्यपि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवारको माओवादी केन्द्रको वाग्मती प्रदेश कमिटीको बैठकमा एमसीसी संसदमा टेबल भइसकेकाले अब त्यसको सामना गर्नुको विकल्प नभएको बताएका थिए।
आज बस्ने बैठकका लागि कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा पनि एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको छ।