
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको बिहीवारको बैठक बस्नु अघि सक्रिय बनेका छन्। बानेश्वरमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा विरोध गर्न पुग्नेको संख्या बढ्दै जाँदा उनले सत्ता घटक दलका नेताहरुसँगको भेटघाटलाई तीब्र बनाएका हुन्।
आज बिहानै प्रचण्डले सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए। सिंहदरबारमा भएको भेटमा नेकपा एमालेले गरिरहेको संसद अवरोधलाई कसरी हटाउने बारेमा छलफल भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए। उनले एमसीसीको विपक्षमा मतदान गर्ने पार्टीको निर्णय यथावत् रहेको भन्दै उनले संसदमा कसरी छलफल गर्ने भन्ने बारेमा नेताहरुबिच कुराकानी भएको बताए।
सिंहदरबारमा भेट लगतै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बालुवाटारमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो पुरानै अडान र आज बिहान माधव नेपालसँग भएको भेटबारे कुरा राखेका थिए।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारे छलफल हुने कार्यसूची छ। प्रचण्डले सत्ता गठबन्धनका नेताहरुसँग सरकार छोड्ने कि नछोड्ने भन्नेबारेमा छलफल गरेका थिए।
यस्तै, आज एमसीसीबारे सामान्य छलफल मात्रै हुने भएकाले केहि समय धैर्य गर्नुपर्ने प्रचण्डले नेताहरुलाई बताएका छन्। प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न प्रचण्ड-नेपाललाई आग्रह गरे पनि माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने बताइरहेका छन्। सत्ता गठबन्धनका नेताहरुले नसघाए एमालेसँग सहकार्य हुनसक्ने नेपाली कांग्रेसका नेताहरुले बताइरहेका छन्।