PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अझै प्रहरीको सम्पर्कमा आएनन् पल



रिना थापा

अझै प्रहरीको सम्पर्कमा आएनन् पल

पोखरा : बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा नायक पूर्ण विक्रम शाह (पल शाह) विरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो। नाबालिक गायिकाले आफूलाई पलले करणी गरेको जाहेरी दिउँसो करिब १२ बजे दर्ता गराएकी थिइन्।

जाहेरी दर्ता भएको २४ घण्टा बितिसक्दा पनि पल भने प्रहरीको सम्पर्कमा आएका छैनन्। जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काका अनुसार प्रहरीले उनलाई खोजिरहेको छ।

‘जाहेरी दर्ता भइसकेपछि हामीले उहाँको खोजी गरिरहेका छौँ, अहिलेसम्म उहाँ हाम्रो सम्पर्कमा आउनु भएको छैन,’ खड्काले भने।

जाहेरी दर्ता भएपछि सम्पर्कविहीन रहेका पल भने काठमाडौंमा रहेको एक स्रोतले जनाएको छ। उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेर विभिन्न जिल्लामा त्यही अनुसार सर्कुलर पनि गरिएको प्रहरीले जनाएको छ।

‘जाहेरी दर्तापछि पल सम्पर्कविहीन छन्, उनी काठमाडौंमा छन् तर प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन,’ स्रोतले भन्यो, ‘जहाँ भेट्यो त्यही पक्राउ गर्नका लागि प्रहरी सर्कुलर भएको छ।’

प्रहरीको सम्पर्कमा पल नआएपनि आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पलले आफूलाई फसाउन लागेको लामो स्टाटस पोष्ट गरेका थिए। फेसबुक पोष्टमार्फत अडियो पनि सार्वजनिक गर्दै अन्य गायकले आफूलाई फसाउन लागेको उनको आरोप थियो।

बुधवार तनहुँ प्रहरीमा उजुरी दिनु केही दिनअघि गायिका र गायिकाको परिवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन पुगेका थिए। तर, कास्की प्रहरीले घटना भएको स्थान तनहुँ भएकाले उतै जाहेरी दिन भनेको थियो।

जाहेरीमा प्रेमको बहानामा पलले सुटिङमा पोखरा, बागलुङ, चितवनमा रहेको बेला पटकपटक ललाइफखाइ गरी करणी प्रयास गरेको उल्लेख छ। बागलुङ महोत्सव पुगेर फर्किने क्रममा एकै सिटमा बसेको समयमा यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ।

विवाहको वाचा गर्दै नाबालिक गायिकामाथि सुटिङबाट काठमाडौं फर्कने क्रममा बैशाख १४ गते राति तनहुँको दुलेगौंडाको एक घरमा बास बस्ने बेला पलले जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell