PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एमसीसी छल्न अर्थमन्त्री शर्माको सुत्र : कार्यकर्तालाई सडकमा उतार्ने, आफू रिसोर्टमा रमाउने



नेत्र तामाङ

एमसीसी छल्न अर्थमन्त्री शर्माको सुत्र : कार्यकर्तालाई सडकमा उतार्ने, आफू रिसोर्टमा रमाउने

'आज हाम्रो अर्थमन्त्रीज्यू र म्याडम हुनुहुन्छ स्काइ क्याफेमा। नेपालको फस्ट स्काइ क्याफेमा। कस्तो भइरहेको छ सर म्याडम हजुर?'

'द क्लिफ' लेखिएको हरियो रंगको हेल्मेट लगाइरहेका अर्थमन्त्री जनार्दन शर्मालाई सोधिएको प्रश्न। ठीक अगाडि मुस्कुराइरहेकी छिन् उनकी पत्नी लक्ष्मी।

'एकदम राम्रो है,' स्काइ क्याफेमा ब्रेकफास्ट लिइरहेका शर्माले जवाफ दिए।

'थ्याङ्क्यु सो मच फर कमिङ,' द क्लिफका राजु कार्कीले आभार प्रकट गरे। प्लेटमा चम्चाकाँटाको आवाज पनि सुनियो।

'तपाईँहरुको क्रिएटिभ आइडिया धेरै राम्रो। यस्तै पर्यटन क्षेत्रको विकास, नेपालीहरुको इन्जोयका लागि, विदेश पर्यटक आकर्षण गर्नका लागि धेरै महत्वपूर्ण हुने, यसले हाम्रो रोजगारी सृष्टि गर्ने, आर्थिक विकास गर्ने कुराहरु रहेको पाएँ। धन्यवाद।'

शर्माले भने।

स्काइ क्याफेमा श्रीमतीसँग अर्थमन्त्री शर्मा


पहिलो रुप : क्लिफको क्लिप

माथिको संवाद हो बिहीवार बिहानको। बिहीवार संसद भवन नयाँ बानेश्वर चोक वरपर माओवादी कार्यकर्ता मिलेनियम च्यालेन्जको विरोधको तयारी गरिरहँदा अर्थमन्त्री शर्मा भने रिसोर्टमा मस्ती गरिरहेको भिडियो बाहिर आएको हो। पर्वतको कुश्मास्थित द क्लिफ रिसोर्टको यो दृश्य अहिले सामाजिक सञ्जालमा छाएको छ।

संसदको आजको कार्यसूचीमा प्रश्नोत्तरको विषय थियो - जसमा शर्माले सांसदहरुले सोधेको प्रश्नमाथि जवाफ दिनुपर्थ्यो। तर, प्रश्नउत्तर त चल्यो तर, पर्यटन प्रवर्द्धनको।

एमसीसी परियोजना संसदमा छलफल हुँदैगर्दा शर्मा यतिबेला रिसोर्टमा मस्ती गर्दैछन्। त्यसो त अर्थमन्त्री शर्मा एमसीसी टेवल गर्ने मुख्य जिम्मेवारीबाट नै 'फरार' रहँदै आएका छन्। गत आइतवार संसदमा उपस्थित नै भएनन् - एमसीसी सम्बन्धि प्रस्ताव संसदमा टेवल गर्दा।

संसदमा एमसीसी टेबल हुने भएपछि माओवादी र एकीकृत समाजवादीका सांसदहरु विरोधमा उत्रिएका थिए त्यस दिन। कार्यकर्ता चाहिँ सडकमा ढुंगामुडामा व्यस्त थिए। कतिपय प्रहरीको लाठी सहँदै थिए। एक हिसाबले सडकमा भिडन्त जारी थियो।

आइतवार त्यही दृश्य दोहरिँदै थियो। बानेश्वर सडकमा माओवादी कार्यकर्ता झन्डा सहित प्रहरीसँग भिडिरहँदा भाइरल भइरहेको थियो - अर्थमन्त्री शर्माको लोभलाग्दो भिडियो। पक्कै उनको भिडियोले क्लिफमा धेरैलाई तान्ने छ। कतिपयले शर्माको शैलीलाई 'रोम जलिरहँदा निरोले बजाएको बाँसुरी'सँग तुलना पनि गरिरहेका छन्।

गत आइतवार उनी संसद छलेर कता पुगे थाहा भएन, नत्र त्यसै दिन पनि उनीमाथि टिप्पणीहरु आउने थियो। त्यस दिन उनको साटो एमसीसी सम्वन्धि प्रस्ताव सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा प्रस्तुत गरे।

दोस्रो रुप : बजेट खोस्न जोडबल

अर्थमन्त्री शर्मा जति कठोर छन् नम्र र प्रेमिल पनि त्यति नै। त्यसैले पर्वतसम्म पत्नीसँगै पुगेर उनलाई समय दिन भ्याए। परिवारलाई समय दिने उनको कदमको जसले पनि तारिफ गर्छ नै। समय पनि त्यतिखेर जतिखेर मुलुक सबैभन्दा जटिल मोडलमा गुज्रिरहेको छ - एमसीसीलाई लिएर। त्यति महत्त्वपूर्ण समयमा पनि परिवारलाई समय निकाल्न जो कसैले किन सक्थ्यो र?

आज बानेश्वरको अवस्था।


त्यसो त शर्माको रौद्र रुपबारे पनि नेपालीहरु जानकार छन्। २०६७ मंसिर ३ गते धेरैले याद गर्छन्। त्यतिखेर अर्थ मन्त्री थिए नेकपा एमालेका सुरेन्द्र पाण्डे। उनले बजेट पेश गर्न जाँदा बलजफ्ती बजेटको ब्याग नै खोस्न दौडेका थिए शर्मा। दलहरु बिच सहमतिविना बजेट ल्याएको भन्दै माओवादी विरोधमा उत्रिएको थियो। र, बजेटको ब्याग खोस्न उत्रिँदा उनी कति लडाकु स्वभावका छन् देखिन्थ्यो।

आर्थिक वर्ष २०७४/७५ मा अर्थमन्त्री कृष्णबहादुर महराले पहिलो संघीय बजेट ल्याएका थिए। चुनावी आचारसंहिताका कारण उनले बजेटमा कुनै नयाँ कार्यक्रम राख्‍न पाएका थिएनन्। त्यसैको झोक माओवादीले देखाइरहेको थियो। र, लडाकु स्वभावका शर्माले गुरिल्ला शैलीमा आक्रमण गरेका थिए।

महरापछि अर्थमन्त्री बनेका पाण्डेलाई हम्मेहम्मे पारे उनले। बजेट ल्याउने प्रयास गर्दा बजेट राखिएको ब्रिफकेस नै फोडियो। पूर्ण आकारको बजेटमा माओवादी सहमत नभए पनि तत्कालीन सरकारले बजेट ल्याउने निर्णय गरेको थियो। दिउँसो ४ बजे बजेट ल्याउने कार्यतालिका थियो। तर माओवादी सहमतिमा आएन। माओवादीले सदन अवरोध गर्ने देखिएपछि त्यतिबेलाका सभामुख सुभास नेम्वाङले राति साढे १० बजे संसद्को बैठक बोलाए। र, अर्थमन्त्री पाण्डेले बजेट पेश गर्न समय दिएका थिए। बजेट पुस्तिका च्यातेका थिए माओवादीका सांसदले

स्काइ क्याफेमा पत्‍नीसँगै मन्त्री शर्मा।


माओवादीले बजेटमा अवरोध गरेपछि तत्कालीन माधव नेपाल सरकारले अध्यादेश मार्फत् बजेट ल्याउने निर्णय गरेको थियो। भोलिपल्ट अर्थमन्त्री पाण्डेले राष्ट्रिय योजना आयोगको हलमा बजेट सार्वजनिक गर्नुपरेको थियो।

तेस्रो रुप : गुरिल्ला अनुभवको प्रयोग

कुनै बेला बजेटको चर्को विरोधमा उत्रेका जनार्दन शर्मालाई पाँच दलीय गठबन्धनको सरकारमा अर्थ मन्त्रीको जिम्मेवारी आइलाग्यो। बजेटको ब्रिफकेस फोड्न उत्रेका शर्मामाथि सदनमा बजेट पेश गर्ने समय पनि आयो। 'कहिले सासुको पालो, कहिले बुहारीको पालो' भने झैं भइरहेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विरोधमा उत्रिएको थियो।

२०७८ भदौ २५ गते बजेट पेशका लागि प्रतिनिधिसभाका तीनवटा बैठक राखिएको थियो। तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद र मर्यादापालक बिच पटकपटक धकेलाधकेल चलिरह्यो।

कुनै बेला आफैँले बजेटको ब्रिफकेस तोडेको अनुभवलाई भरपुर प्रयोग गर्दै - अर्थमन्त्री शर्मा दौडिँदै रोष्ट्रम पुगे। र, विधेयक पेश गरे - पूरै छापामार शैलीमा।

सडकमा कार्यकर्ता।


संसद बैठक अवरोध गर्ने नीति लिएको एमाले र बजेटको प्रतिस्थापन विधेयक पेश गर्ने तयारीमा रहेको सरकार बिच सहमति जुटेको थिएन। जसका कारण एमालेको अवरोध र नाराबाजीका बिच अर्थमन्त्री शर्मा दौडेर रोस्टम पुग्नुपरेको थियो।

जे होस्, शर्मा शैली चाहिँ सोसल मिडियामा सधैं लोकप्रिय देखिन्छ। यसअघि राजनीतिका चतुर खेलाडीका रुपमा चिनिएका अर्थमन्त्री शर्मा आज भने प्रेमिल अवतारमा उत्रिए। त्यसरी उत्रिनुको राजनीतिक कारण उनले जति अरुले कसरी बुझुन्? उनी आज पर्वतमा रमाइरहँदा यता बानेश्वर रणमैदानमा फेरि परिणत भयो। बोलाइएको संसद नबस्दै स्थगित पनि भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell