PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

खुस्किँदै गठबन्धनको गाँठो : के देउवा र ओली सहकार्य नजिक पुगेका हुन्?



प्रकाश भण्डारी

खुस्किँदै गठबन्धनको गाँठो : के देउवा र ओली सहकार्य नजिक पुगेका हुन्?

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन फुट उन्मुख देखिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलको गठबन्धन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कारण फुटको संघारमा पुगेको हो।

प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न जोडबल गरेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले त्यसको विपक्षमा उभिने निर्णय गरेका छन्।

एमसीसीमा सत्तामा रहेका दलले पक्षमा मतदान नगरे गठबन्धन फुट्ने कांग्रेस नेताहरुले बताइरहेका छन्। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीको पक्षमा प्रचण्ड नेपालले मतदान नगर्ने हो भने अहिलेको समीकरण यथावत नरहने चेतावनी दिएका छन्।

'सरकारले ल्याएको प्रस्तावमा गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ,' तनहुँमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा पौडेलले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार प्रधानमन्त्री देउवालाई यसै विषयलाई लिएर भेटेका थिए। उक्त भेटमा देउवाले फेरि पनि एमसीसी पास गर्न सहयोग गर्नुपर्ने प्रस्ताव अघि सारे। प्रचण्डलाई देउवाले एमसीसी पास गर्न गठबन्धन टुटाउन परे, तयार रहेको संदेश दिइसकेका छन्। देउवाले एमालेसँग हुनसक्ने सहकार्यबारे पनि प्रचण्डलाई ब्रिफिङ गरिसकेका छन्।

एक दिन किन धकेलियो संसद बैठक?

एमालेसँग सहकार्य गर्नका लागि कांग्रेसका नेताले संवादलाई तीब्र बनाएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री देउवाले बालुवाटारमै बोलाएर फागुन १० गते सहकार्यका लागि प्रस्ताव गरेका थिए।

तर, ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने शर्त राखेपछि त्यस दिन कुनै सहमति हुन सकेन। देउवाले बिहीवार माओवादी केन्द्रको आधिकारिक धारणा बुझ्न गृहमन्त्री बालकृष्ण खाणलाई प्रचण्ड निवास खुमलटार पठाए।

प्रचण्डले आफू एमसीसी पास गर्ने पक्षमा नरहेको जवाफ देउवालाई दिएका थिए। बिहीवार बालुवाटारको भेटमा देउवालाई प्रचण्डले रोक्न कसरत नगरेका होइनन्। प्रचण्ड सफल हुनेगरी देउवा रोकिने मुडमा थिएनन्।

सोझो हिसाबले एमसीसीमा बहुमत नजुट्ने देखिएपछि बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक एक दिनका लागि स्थगित गरिएको छ। लगत्तै देउवाले ओलीसँग छलफललाई तीब्र बनाएका छन्। देउवाले ओलीसँग गरिरहेको लगातारको संवाद बाँकी सत्तारुढ दलका लागि खतराको सूचक बनिरहेको छ।

'एमसीसी को सैद्धान्तिक छलफलमा सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि, आफ्नो संकट निवारणका लागि विभिन्न दलसँग समर्थन जुटाउन, र त्यसको लागि विभिन्न दलका शर्तहरु पूरा गर्न समय आवश्यक परेकोले सरकारले आजको बैठक स्थगन गर्न माग गरेको हो,' प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन्।

एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमालेको अवरोधलाई हटाउनका लागि बिहीवारको बैठक स्थगित गरिएको बताए। उनले प्रधानमन्त्रीले एमालेसँग अवरोध हटाउन पहल गरिरहेको जानकारी दिए।

'हल्लाको बिचमा यस्तो महत्वपूर्ण विषयमा माननीयज्यूहरुले आफ्नो धारणा राख्‍ने स्थिति बन्दैन। सबै जनताको चासोको विषय एमसीसी बनेको छ। त्यसको सम्बोधन गर्नुपर्ने स्थिति बनेको छ। अवरोधको बिचमा बोल्ने कुरा हुँदैन,' उनले भने, 'प्रमुख प्रतिपक्षले जुन अवरोध खडा गरिरहेको छ, त्यसलाई हटाउने र सहमतिमा ल्याउनका लागि पहल गरौं भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूले पनि पहल गरौँ भनेर हामीले पनि भनेका थियौँ कार्यव्यवस्थामा। तर, त्यहाँ सहमति भएन। पछि प्रधानमन्त्रीले त्यसैका लागि बैठक स्थगित गर्नुभयो।'

सरकारसामु फागुन १६ गतेसम्म एमसीसीलाई संसदबाट टुंगो लगाउनुपर्ने 'डेडलाइन' छ। त्यसका लागि अब ४ दिन पनि बाँकी छैन।

यसैबिच आजको बैठक धकेलिनुले कांग्रेसको एमालेसँगको सहकार्यको सम्भावना बढ्नु भएको सत्तारुढ दलका नेताहरु स्वीकार्छन्।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धन टुटे पनि कुनै फरक नपर्ने चेतावनी बुधवार दिएका थिए।

यसअघि प्रचण्डले मंगलवार वाग्मती प्रदेश कमिटीको बैठकमा कांग्रेसले पनि एमसीसीलाई देखाएर सभामुखलाई हटाउन खोजेपछि संसदमा एमसीसी टेबल गर्न तयार भएको सुनाएका थिए। यद्यपि, उनले अब एमसीसीको सामना गर्नुको विकल्प माओवादीसँग नभएको प्रष्ट्याएका थिए।

देउवा-ओली सहकार्यको गृहकार्य

एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने, नभए आफ्नो पार्टीले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारवाही सदर गर्नुपर्ने शर्त राखिरहेको छ। कांग्रेस उक्त शर्त मान्न तयार भए एमालेसँग सहकार्य हुनसक्ने एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक भट्टराईले गठबन्धन टुटेमा एमालेले सहकार्य गर्न सक्ने बताए।

'अहिले पनि हामी आन्दोलनमा छौँ। ठोस जवाफ प्राप्त भएको छैन। गठबन्धनको एकीकृत धारणा आयो भने राम्रो,' उनले भने, 'अहिले व्यक्तिव्यक्तिको धारणा आएका छन्। गठबन्धन रहेन भने एमालेले के गर्ने भन्ने विचार गर्छ। एमाले गतिरोधको निकास दिन र नयाँ सरकार स्थापित गर्न चाहन्छ।'

उनले देउवाले एमालेसँग सहकार्य गर्न चाहेको दावी पनि गरे।

'असार २८ गते बनेको अप्राकृतिक गठबन्धन मुलुकको हितमा नहुने र गठबन्धन चल्दै नचल्ने स्थिति बनेको हो भने कसरी अगाडि बढ्ने बारेमा प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीज्यूले कुराकानी गर्न चाहेको हामीले बुझेका छौं,' भट्टराईले भने।

एमसीसीकै विषयलाई लिएर देउवा र ओलीबिच बुधवारमात्र होइन, पुस २४, माघ ५ र फागुन १० गते पनि वार्ता भएको थियो। देउवाको एमालेतिर आकर्षण र सत्ता सहयात्रीप्रतिको वितृष्णा देखाउँछ - लगातारका संवाद प्रकृयाले। यद्यपि, एमालेले सहकार्यका लागि अहिलेको सत्ता गठबन्धन टुट्नुपर्ने बटमलाइन तय गरेको छ। देउवाले पनि एमालेले आफूलाई प्रधानमन्त्री स्वीकार्नुपर्ने र आफ्नै नेतृत्वको सकारबाट चुनाव गराउने सुनिश्चितता खोजेका छन्।

२०७८ असार २८ गते देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएपछि असार २९ गते यता ५ दलको सत्ता गठबन्धन बनेको थियो। ८ महिनामा ५ दल बिच सत्ता सञ्चालनका बारेमा सहकार्य हुँदै आएको भए पनि पछिल्लो समय एमसीसीलाई लिएर गठबन्धनको गाँठो फुस्किँदो छ। सर्वोच्च अदालतको फैसलापछि सत्ता सहकार्यको बाटोमा पुगेका देउवा र प्रचण्ड - नेपाल एमसीसीका कारण विभाजन उन्मुख देखिन्छन्।

कांग्रेस - एमाले समीकरणको सम्भावना

प्रधानमन्त्री देउवा र ओलीबिच भएको बिहीवारको बैठकले सहकार्य गरेर जाने विषमा सहमति नजिक पुगेको कांग्रेसका नेताहरुले बताएका छन्। कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले सहकार्यका लागि थप छलफल हुने बताए।

'एमसीसीलाई मुलकको हितमा प्रयोग गर्नुपर्छ भन्नेहरु बिच सहकार्य गरेर जानुपर्छ भन्ने भएको छ। अझै पनि थप छलफलको आवश्यकता भयो। त्यसैले समय लिइएको हो,' बडुले भने।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि अहिलेको गठबन्धन यस्तै शैलीमा अघि नबढ्ने बताएका छन्। उनले संसद खोल्ने विषयमा एमाले कांग्रेस एक ठाउँमा पुगेको उल्लेख गर्दै भने, 'यो कुनै दलको विषय होइन। नेपाली कांग्रेस सबैसँग खुला छलफल गर्न तयार छ। यसलाई अगाडि बढाउँ भन्यौं र अवरोध हटाउँ भनेर छलफल गर्‍यौं। एमालेका अध्यक्ष ओलीले आफ्नो पार्टीको छलफल गर्छु भन्नुभयो। हामी अवरोध हटाउने विषयमा एक ठाउँमा आएका छौँ। गठबन्धन अघि बढ्ने विषयमा त समस्या आयोआयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell