
काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत नेपालले तेस्रो स्थान लिन सफल भएको छ। ओमनस्थित अल अमेरत स्टेडियममा सम्पन्न खेलमा नेपालले ओमनमाथि ९ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.३ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङ गरेको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक २१ रन बनाउँदा आयन खानले १६ रन र नशीम खुशीले १५ रन जोडे। त्यस्तै कलिमुल्लाह १४ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा र सागर ढकालले समान १ विकेट लिए।
जवाफी ब्याटीङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै ५२ बलमा ३ चौका र २ छक्काको सहायतामा ५५ रन जोडे। त्यस्तै आशिफ शेखले १३ रन बनाउँदा आरिफ शेख १७ रनमा अविजित रहे। जितसँगै नेपाल छनोट ए मा तेस्रो बनेको छ।
योसँगै पछिल्लो १३ दिनमा ओमन नेपालसँग तेस्रो पटक पराजित भएको छ। जसमा फेब्रुअरी ११ मा चारदेशीय सिरिज अन्तर्गतको खेलमा ६ विकेटले जित निकालेको थियो भने फेब्रुअरी १८ मा विश्वकप छनोटको खेलमा ३९ रनले नेपालले जित निकालेको थियो।
यसअघि विश्वकप छनोटका लागि अन्तिम ढोका मानिएको सेमिफाइनल खेलमा नेपाल र ओमन क्रमश यूएई र आयरल्याण्डसँग पराजय ब्यहोर्दै विश्वकपमा स्थान बनाउनबाट चुकेका थिए। अर्कोतर्फ छनोट 'ए' बाट यूएई र आयरल्याण्डले अस्ट्रेलियामा यही वर्ष हुने टी २० विश्वकपका लागि टिकट पक्का गरिसकेका छन्।