PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

रसिया-युक्रेन तनाबमा खेल कूटनीति: स्थिति नियाल्दै फिफा र यूईएफए, च्याम्पियन्स लिगको फाइनल सार्न दबाब



पहिलोपोस्ट

रसिया-युक्रेन तनाबमा खेल कूटनीति: स्थिति नियाल्दै फिफा र यूईएफए, च्याम्पियन्स लिगको फाइनल सार्न दबाब
नापोलीलाई पछि पार्दै अन्तिम युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेपछि सेलिब्रेसन गर्दै रसियन क्लब स्पार्टक मस्कोका खेलाडी। तस्विर : सीएनएन

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपको सर्वोच्च निकाय यूईएफएले रसिया-युक्रेन संकटलाई नजिकबाट नियालिरहेको जनाएका छन्। यो तनावले युरोपेली फुटबल र विश्व फुटबलमै पनि प्रभाव पर्ने देखिन्छ। रुसीले युक्रेनमा आक्रमण गरेपछि स्थिति तनावग्रस्त छ।

अर्कोतर्फ युरोपको पुरुष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग मे ८ मा सेन्टपिटरबर्गस्थित क्रिस्टोभ्स्की रंगशालामा हुने तालिका छ। सरकारी स्वामित्वको कम्पनी गाजप्रोमको प्रायोजनमा रहेको उक्त स्टेडियममा २०१८ को फिफा विश्वकप र २०२० युरोकपका खेलहरुसमेत भएका थिए।

यसरी हेर्दा च्याम्पियन्स लिगको फाइनल यो वर्ष पनि प्रभावित हुन सक्ने देखिन्छ। अघिल्लो वर्ष पनि टर्कीको इस्तानबुलमा फाइनल खेल तय गरिएकोमा कोभिड संक्रमणको कारण देखाउँदै अन्तिम समयमा पोर्चुगलमा सारिएको थियो।

'हामी अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेका छौं। च्याम्पियन्स लिगको फाइनललाई लिएर आवश्यक परेको खण्डमा निर्णय लिनेछौं। योभन्दा धेरै प्रतिक्रिया हाल दिन सक्दैनौं।' यूईएफएका प्रवक्ताले सीएनएनसँग भने।

बेलायतका विदेश सचिव लिज ट्रुसले यसमा परिवर्तन नभए इङ्ग्लिस क्लबले फाइनल खेल बहिस्कार गर्नुपर्ने बताएका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि सम्प्रभू मुलुकमाथि आक्रमण गर्ने रसियामा कुनै प्रतियोगितामा सहभागिताको सम्भावना नहुने बताएका थिए।

यूईएफएका खेलमा रसिया र युक्रेनी क्लबका खेल के हुन्छन्?

यूईएफएका मुख्य प्रतियोगिताहरुमा कुनै युक्रेन क्लब बाँकी छैनन्। त्यस्तै रसियन क्लब पनि यूईएफएको महिला र पुरुषतर्फको च्याम्पियन्स लिग र कन्फ्रेन्स लिगमा बाँकी छैनन्। रसियन टिम जेनिथ सेन्टपिटरबर्ग पुरुषतर्फ युरोपा लिगमा बाँकी छ। बिहीबार स्पेनिस क्लब रियल बेटिससँग बिहीबार छ। अर्को टोली स्पार्टक मस्कोले अन्तिम १६ मा स्थान बनाइसकेको छ।

किइब शहरमा हुने भनिएको डाइनामो किइब र स्पोर्टिङ लिस्बनको यूईएफए युथ लिगलाई स्थगित गर्ने निर्णय यसअघि नै यूईएफएले लिइसकेको छ। यो खेल अर्को हप्तापछि गराउने तयारी भइरहेको र दुबै टोलीसँग सम्पर्क भइरहेको यूईएफएले जनाएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय खेलहरुमा रसियाले मार्चमा विश्वकप क्वालिफायर्सको खेलमा पोल्याण्डविरुद्ध घरेलु मैदानमा खेल्दैछ। उक्त खेल मस्कोस्थित भीटीभी एरेनामा हुने तालिका छ। जित्ने टोलीले चेक रिपब्लिक या स्वीडेनसँग मार्च २९ मा रसियामै अर्को खेल खेल्ने तालिका छ।

त्यस्तै प्लेअफमा युक्रेनले पनि खेल्ने तालिका छ। मार्च २४ मा युक्रेनले घरेलु टोलीसँग अवे खेल खेल्ने तालिका छ। कतार विश्वकपमा स्थान सुरक्षित गर्न त्यसपछि वेल्स या अस्ट्रियासँग मार्च २९ मा खेल्नेछ।

यता फिफाले हालको अवस्थालाई मोनिटर गरिरहेको जनाएको छ।

युक्रेनी स्टार तथा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडी ओलेक्सेन्डर जिन्छन्कोले सामाजिक सञ्जालमा स्टाटस लेख्दै युक्रेनको समर्थन गरेका छन्।

'सारा सभ्य विश्वले मेरो देशको बारेमा चिन्ता लिएको छ। म पनि पछाडि बसेर यसबाट हट्न सक्दिनँ। जुन देशमा म जन्मिएँ र हुर्किएँ, अन्तर्राष्ट्रिय फुटबलमा म जुन देशको जर्सी लगाउँछु, जसको गौरव र विकास बढाउन हामी चाहन्छौं, त्यो देशको सीमाहरु अक्षुण्ण रहनुपर्छ,' युक्रेनी टिमबाट ४८ क्याप खेलिसकेका उनले लेखेका छन्, 'मेरो देश युक्रेनीहरूको हो र हामी हार मान्दैनौं!'

त्यस्तै अर्का पोर्चुगिच क्लब बेनफिकाबाट खेल्ने युक्रेनी खेलाडी रोमन यारेमचुकले च्याम्पियन्स लिग अन्तर्गतको गएरातिको खेलमा  डच टोली आयाक्सविरुद्ध गोल गरेपछि युक्रेनी 'कोर्ट अफ आर्म' देखाउँदै युक्रेनको समर्थन गरेका थिए।  

रसिया र युक्रेनबीच फिफा वुमन वर्ल्डकप क्वालिफार्स अन्तर्गतको खेल अप्रिल महिनामा हुने तालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell