
काठमाडौँः सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। बिहीबार साँझ बालुवाटारमा भएको छलफलमा दुबै दलले आ–आफ्ना धारणा राखेका हुन्। पुरानै एजेण्डा यथावत रहँदा बैठक निष्कर्षमा पुग्न नसकेको हो।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सदनको अवरोध हटाउने विषयमा एमालेले प्रतिवद्धता नजनाएको बताए।
कार्कीले भने, ‘संसद् भवनमा पनि लामो छलफल भएको थियो। प्रधानमन्त्रीले सबैको सहयोगमा एमसीसी पास गराउन भन्नुभयो। केपी शर्मा ओलीजीले अहिलेको बैठकमा पनि पुरानै कुरा राख्नुभयो। यो वार्ता खास गरेर संसद बैठकलाई प्रभावकारी बनाउन जारी रहन्छ। संसद खुलाउन एमाले अझै सकारात्मक देखिएन।’
बैठकमा सहभागी एक एमाले नेताले विभिन्न विषयमा छलफल भए पनि सहमति नभएको बताए। उनका अनुसार एमसीसी, संसद अवरोध, एमालेले कारबाहीका लागि पठाएका सांसदको बहिर्गमन वा सभामुखको राजीनामा लगायतका विषयमा छलफल भएको छ। तर, कुनै सहमति नभएको हो।
‘प्रधानमन्त्रीले एमसीसीमा सहयोग गर्न भन्नुभयो। हामीले १४ सांसदको कारबाही के हुन्छ भन्ने प्रश्न गर्यौँ। सभामुख हटाउने विषयमा हामीले उहाँहरुका धारणा सुन्यौँ। तर, ठोस् जवाफ आएन। आज कुनै पनि विषयमा सहमति भएन। तर, कुराहरु सकारात्मक छन्।’
दुई घण्टा चलेको वार्तामा दुबै पक्षबाट शीर्ष नेतासँगै पार्टी पदाधिकारी समेत सहभागी थिए।
बिहीबार दिउँसो पनि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद् भवन बानेश्वरमा छलफल भएको थियो। सत्ता साझेदार दलहरुबाट एमसीसी पारितमा असहयोग हुने निश्चित सूचना पाएपछि सरकारले बिहीबारको छलफल स्थगित गरेर वार्ता अघि बढाएको थियो। सोही सिलसिलामा ओली र देउवाबीच भेट भएको थियो।
एमालेले एमसीसी पारितका लागि तीन शर्त अघि सारिसकेको छ। आफ्ना शर्त पूरा भएमा एमसीसीको पक्षमा मतदान गर्ने रणनीतिमा एमाले छ।
एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई हटाउनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने शर्तलाई पेचिलो रुपमा उठाएको छ। तर, हालसम्म कांग्रेसले सो विषयमा ठोस् जवाफ नदिएको एमाले नेताहरु बताउँछन्। वर्तमान गठबन्धन कायम रहेसम्म एमसीसीको पक्षमा मत नदिने एमालेको अर्को शर्त छ।