PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

क्रिकेट विवादको 'क्लाइमेक्स'पछिको तयारी, निर्णायक खेलमा हार बेहोर्दा दोस्रोपटक विश्वकप खेल्ने सपना यसरी रह्यो अधुरै



मुकुन्द घिमिरे

क्रिकेट विवादको 'क्लाइमेक्स'पछिको तयारी, निर्णायक खेलमा हार बेहोर्दा दोस्रोपटक विश्वकप खेल्ने सपना यसरी रह्यो अधुरै

काठमाडौं : पुसको पहिलो साता विश्वकपको 'ग्लोबल क्वालिफायर्स' सुरु हुन करिब दुई महिना बाँकी थियो। प्रतियोगिताका लागि नेपाली क्रिकेट खेलाडी तयार हुनुको सट्टा विवादमा गिजोलिन पुगे। प्रतिस्पर्धी टिमहरुले धमाधम विश्वकपको सिरिजको तयारी गरिरहेका थिए। त्यतिबेला नेपालमा भने क्रिकेट चरम विवादमा मुछियो।

खेलाडी वर्गीकरणबाट सुरु भएको विवादमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई हटाउनेसम्मको निर्णयमा पुग्यो नेपाल क्रिकेट संघ। उनीहरु सहित चारजना खेलाडी कारबाहीमा पनि परे। सन्दीप लामिछानेले कप्तानीको जिम्मेवारी पाए। त्यतिबेला उनी अस्ट्रेलियामा बिग बास लिग खेलिरहेका थिए।

क्यान र क्रिकेटरको विवाद 'क्लाइमेक्स' मा पुगेको थियो। अझ डेभ ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएर गएयता नयाँ प्रशिक्षक खोज्न प्रक्रिया पूरा गर्दागर्दै समय लम्बिरहेको थियो। क्रिकेट क्षेत्रमा कालो बादल मडारिएको बेला पहिलोपटक नेपाललाई विश्वकप खेलाएका प्रशिक्षकमा पुबुदु दासानायके फेरि नेपाल आए।

अर्कोतर्फ विवादले खेलाडी त विभाजित भए नै, बोर्ड सदस्यहरु पनि विवाजित भएर छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्न थालेका थिए। पुबुदुको आगमनसँगै लामो छलफलपछि सतहमा आएको विवादपछि साम्य भएको देखियो। कारबाही फिर्ता लिने लगायतका सहमति भएपछि खेलाडी मैदानमा फर्किए। जसका लागि प्रशिक्षक दासानायकेले पनि महत्वपूर्ण भूमिका खेले। पछि क्यानको बैठकले पनि यो सहमति सदर गर्दै कारबाही फिर्ता पनि लियो।

विश्वकप छनोट हुन सपना देखेको नेपालले बल्ल अभ्यास सुरु गर्ने माहोल बन्यो। त्यही बीचमा पहिलो पटक टी २० फर्म्याटमा प्रधानमन्त्री कप भयो। कप्तान लामिछाने पनि नेपाल आए। त्यसबीचमा कोभिडले नेपाली टोलीलाई धेरै प्रभावित पनि गर्‍यो। अनि नेपाल ओमान लाग्यो, विश्वकपमा छनोट हुन।

तर, यूएईसँगको निर्णायक खेलमा जित निकाल्न नसक्दा अस्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट हुनबाट नेपाली क्रिकेट टोली चुक्न पुग्यो।

चारदेशीय सिरिज
नेपालले ओमान पुगेर घरेलु टोली ओमान, यूएई र आयरल्याण्डसँग टी २० सिरिज खेल्यो। जसमा ओमानलाई ६ विकेटले हरायो भने आयरल्याण्ड र युएईसँग क्रमश: १६ र २५ रनले पराजित भयो। नेपाली टोलीले यो सिरिजमा ब्याटिङदेखि बलिङसम्म एक्सपेरिमेन्ट पनि गर्‍यो। त्यसो त ओमान जानुअघि कप्तान लामिछानेले यो सिरिज क्वालिफायर्सका लागि उत्कृष्ट प्लेइङ ११ छान्ने अवसरका रुपमा हेरिएको बताएका थिए।

सिरिजपछि नेपाली टोलीका प्रशिक्षक दासानायकेले उक्त सिरिजले खेलाडीहरुमा आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका थिए। 'सिरिजलाई लिएर मलाई गुनासो छैन। खेलाडीहरुले एकदमै राम्रो खेल खेले। नतिजा जे भए पनि हामी एकदमै नजिक थियौं। यी खेलपछि सबै टीम कन्फिडेन्ट छ,' उनले भनेका थिए।

त्यस्तै, कप्तान लामिछानेले पनि विश्वकप छनोटका लागि आत्मविश्वास यो सिरिजले बढाएको बताएका थिए।

'टिम कम्बिनेसन हेर्दा विश्वकप क्वालिफायर्सको जुन लक्ष्य लिएर आएका छौं, खेलाडीको यो तीनवटै खेलको प्रदर्शनको आधारमा हामी सक्षम छौं जस्तो लाग्छ। अगाडिका खेलहरुमा हामी योजनाका साथ अघि बढ्छौं,' कप्तान लामिछानेले भनेका थिए, 'हामी सबैको अन्तिम लक्ष्य भनेको चाहिँ नेपाललाई विश्वकप पुर्‍याउने हो।'

छनोटको समूह चरण
सिरिजमा १ जित र २ पराजय बेहोरेको नेपालले विश्वकप क्वालिफायर्सअन्तर्गत छनोट ए को समूह 'बी'का खेल खेल्यो। समूह 'बी'मा नेपालसहित फिलिपिन्स, ओमान र क्यानडा थिए। त्यस्तै समूह 'ए' मा जर्मनी, बहराइन, यूएई र आयरल्याण्ड थिए। दुवै समूहमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गर्ने नेपालमात्र एउटा टोली थियो।

नेपालले ओमानमाथि ३९ रन, फिलिपिन्समाथि १३६ रन र क्यानडामाथि ८ विकेटको सानदार जित निकाल्यो। यस क्रममा कुशल भुर्तेलले शतकीय पारी खेल्दा दीपेन्द्रसिंह ऐरी सबैजसो खेलमा निर्णायक सावित भए। र, नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो।

नजमेको सेमिफाइनल
सेमिफाइनलमा नेपालको कुनै रणनीति काम लागेन। न त बलिङ राम्रो भयो, न त फिल्डिङ न त ब्याटिङ नै जम्यो। र, ६८ रनले पराजित हुन पुग्यो। नेपालमाथि जित निकालेको यूएईले विश्वकपमा स्थान सुरक्षित गर्‍यो। त्यसैले नेपाली टोलीका कप्तान लामिछानेले खेलपछि आईसीसी मिडियासँग भने, 'यो हाम्रो लागि त्यस्तो दिन थियो, जहाँ केही पनि काम लाग्दैन। उनहरुले हरेक पक्षमा राम्रो खेले। युएईले खेलको सुरुदेखि अन्त्यसम्मै हामीलाई दबाबमा राख्न सक्यो। हामीले कहिल्यै कमब्याक नै गर्न सकेनौं।'

टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल फितलो ब्याटिङ गर्दै १८.४ ओभरमा १०७ रनमा समेटिएको थियो।

ओमान १३ दिनमा तीनपटक नेपालसँग पराजित
नेपाल जस्तै ओमनी टोली पनि विश्वकपको मुखैमा पुगेर पछि फर्कन पर्‍यो। चारदेशीय सिरिज, क्वालिफायर्सको समूह चरण र तेस्रो स्थानका लागि खेलमा गरी नेपाल र ओमानबीच तीनवटा खेल भए। जसमा तीनवटै खेलमा ओमान नेपालसँग पराजित भयो।

नेपालले फेब्रुअरी ११ मा चारदेशीय सिरिज अन्तर्गतको खेलमा ६ विकेटले जित निकालेको थियो भने फेब्रुअरी १८ मा विश्वकप छनोटको खेलमा ३९ रनले नेपालले जित निकालेको थियो। र, तेस्रो स्थानको लागि भएको खेलमा ९ विकेटले जित निकाल्यो।

सर्वाधिक विकेट लिनेमा लामिछाने अगाडि
विश्वकप क्वालिफायर्स अन्तर्गतको प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा नेपाली टोलीका लामिछाने सबैभन्दा अगाडि रहे। ५ खेलबाट उनले सर्वाधिक १२ विकेट लिँदा बहराइनका जुनइद अजिज ११ विकेट लिँदै दोस्रो स्थानमा रहे। त्यस्तै ओमानका खावर अली, नेपालका अविनाश बोहोरा, आयरल्याण्डका सीए योङ र यूएईका रोहन मुस्तफाले समान ८ विकेट लिए। ६ विकेट लिएका कमलसिंह ऐरी नवौं स्थानमा रहे।

ब्याटिङतर्फ यूएईका युवा खेलाडी बृत्य अरविन्द २६७ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा रहे। त्यस्तै यूएईकै मोहम्मद वसीमले २४१ रन बनाउँदा २०५ रन जोडेका नेपाली ब्याट्सम्यान कुशल भुर्तेल तेस्रो नम्बरमा रहे। त्यस्तै १५९ रन जोडेका दीपेन्द्रसिंह ऐरीले छैटौ नम्बरमा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell